मंगलबार, भाद्र २ गते २०८३
images

ओलीले एकतर्फी बैठक स्थगित गर्नू गलत भएको नेकपा स्थायी कमिटी बैठकको निष्कर्ष

  • 1.2K
    SHARES
  • श्रावण १३, २०७७ मंगलबार

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक सकिएको छ । अध्यक्ष केपी शर्मा ओलीसहित केही स्थायी कमिटी सदस्यले बैठक बहिष्कार गरे पनि पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल  'प्रचण्ड'को अध्यक्षतामा सुरु भएको बैठकमा प्रचण्डले पार्टीभित्रको विवादका विषयमा ब्रिफिङ गरेका थिए ।

    बैठकले एकतर्फीरुपमा स्थायी कमिटी बैठक स्थगित गरेर प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले गलत गरेको निष्कर्ष निकालेको छ । बैठकले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँग छलफल गरेर छिटो भन्दा छिटो बैठक सुचारु गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको ऊर्जामन्त्रीसमेत रहेका नेकपा स्थायी कमिटी सदस्य वर्षमान पुन 'अनन्त'ले जानकारी दिएका छन ।

    बैठकलाई सम्बोधन गर्दै प्रचण्डले जिम्मेवार भएर पार्टीलाई विभाजनबाट जोगाउनु पर्ने बताए । उनले स्थायी कमिटीका सबै सदस्यलाई पार्टी एकता कायम राख्नका लागि आआफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका हुन् ।

    बैठकलाई सम्बोधन गर्दै प्रचण्डले भने, कमरेडहरु यो बेला उत्तेजनाको होइन, साहस र धैर्यको आवश्यकता छ । कसैको लहड र उत्तेजनाबाट पार्टी विभाजन रोक्नका लागि सबैले भूमिका खेलौँ । पार्टीलाई विधि र प्रक्रिया अनुसार चलाउनुपर्छ ।

    पार्टी एकताको समयमा गरिएको छलफल स्मरण गर्दै प्रचण्डले भने, ठूलो बलिदान र योगदानबाट नेकपा बनेको हो । यसलाई कसैको लहड र उत्तेजनाबाट मुक्त गर्नुपर्छ । पार्टी गम्भीर मोडमा पुगेको छ । हामी सबैजना जिम्मेवार बनौँ । उत्तेजना र लहडमा हामी लाग्नु हुँदैन ।

    प्रचण्डले आफूले आजको भेटमा पनि ओलीलाई बैठकमा सहभागी हुन आग्रह गरेको बताएका छन । उनले भने, आज पनि हामीले उहाँलाई आग्रह गर्यौँ । तर उहाँले मान्नु भएन । यसअघि पनि उहाँ सबै बैठकमा उपस्थित हुनु भएको थिएन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार