काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भक्तपुरको बालकोटस्थित निजी निवास पुगेर आफू अढाइ वर्षपछिमात्रै स्थायी बसोबासका लागि फर्किने बताएका छन् ।
प्रचण्डसँगको वार्तापछि सिधै बालकोट पुगेका ओलीलाई सोही घरमा बसिरहेका नेकपा नेता तथा पूर्वमन्त्री गोकुल बास्कोटाले ‘अब कहिले आउने हो तपाई यहाँ बस्ने गरी’ भनेर सोधेका थिए । जवाफमा ओलीले भने–अब अढाइ वर्षपछि ।
प्रधानमन्त्री ओलीले अढाइ वर्ष कार्यकाल पूरा गरिसकेका छन् । साढे दुई वर्षको बीचमा तेस्रो पटक बालकोटस्थित निजी निवास पुगेका प्रधानमन्त्री ओलीले भक्तपुरका बासिन्दा,जनप्रतिनिधि र सुरक्षा तथा प्रशासनिक निकायका प्रमुखहरुसँग छलफल गरेका छन ।
पत्नी राधिका शाक्यसहित बालकोट पुगेका ओलीलाई सोही घरमा बसिरहेका बास्कोटाले स्वागत गरेका थिए । रक्षाबन्धनका लागि बनेपामा रहेका बास्कोटा प्रधानमन्त्री आउने जानकारी पाएपछि हतार हतार फर्किएका थिए ।
प्रधानमन्त्री दम्पत्तिले आफ्नो निवास र करेसाबारी निरीक्षण गरेर फर्किएको बास्कोटाले बताएका छन । प्रधानमन्त्री आउने जानकारीपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सैनिक अधिकारीहरु समेत बालकोट निवास पुगेका थिए ।