बेमौसममा आएको वर्षाले निम्त्याएको बाढी, पहिरो र डुबानमा परी नेपाल अधिराज्यमा ७७ जनाले ज्यान गुमाएका छन् । आज मात्रै ५० भन्दा बढीको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्रालयको विज्ञप्तिअनुसार अहिलेसम्म २६ जना बेपत्ता छन् । कूल २२ जना घाइते रहेका छन् भने २७ घर पूर्ण क्षति रुपमा भएको छ । सबैभन्दा बढी पुर्बी जिल्ला पाँचथरमा पहिरोमा परेर २४ को मृत्यु भएको छ । त्यसपछि पूर्वकै इलामको फाकफोक, चिसापानी, माङ्सेबुङ लगायत बिभिन्न ठाउँमा १३ र डोटीमा १२ जनाको मृत्यु भएको छ । कालिकोटमा १, बैतडीमा ४, डडेलधुरामा १ , बझाङमा २, हुम्लामा ६, सोलुखुम्बु र प्यूठानमा १,१ धनकुटामा ७, मोरङमा १, सुनसरीमा २, र उदयपुरमा २,जनाको मृत्यु भएको छ । बाढी/पहिरोमा बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । यस्तै जुम्लामा १, प्यूठानमा २, र इलाममा ३ जना बेपत्ता रहेका छन् ।
साथै आज बसेको मन्त्रिपरिषद बैठकले मृत्यु भएकाको परिवारलाई जनही २ लाख रुपैयाँ राहत दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । एकै परिवारमा एक जना भन्दा बढीको मृत्यु भएमा प्रतिव्यक्ति थप १ लाख रुपैयाँ राहत दिने घर भात्किएको भए ५० हजार र जग्गामा घर बन्ने अवस्था नभएमा जग्गा किन्न १ लाख रुपया दिने निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए ।