काठमाडौं, १४ कात्तिक । नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध आजदेखि चरणबद्ध आन्दोलन गर्दैछ। पदीय जिम्मेवारी वहन नगरेको भन्दै बारले आजदेखि प्रधानन्यायाधीश राणाविरुद्ध चरणवद्ध आन्दोलन सुरु गरेको हो ।
प्रधानन्यायाधीश जबरालाई पदबाट राजीनामा दिन माग गर्दै बारले आजदेखि निरन्तर ४ दिन सर्वोच्च अदालतको परिसरमा विरोध कार्यक्रम गर्दैछ ।
गत शुक्रबार आन्दोलनको घोषणा गरेको बारले कानुन व्यवसायीलाई कालो पट्टी बाँधेर विरोध कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ।
बारको निर्णय अनुसार कार्तिक १४, १५, १६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालोपट्टी बाँधी विरोध कार्यक्रम गर्ने रहेको छ ।
बारका विरोध कार्यक्रम
मिति २०७८ कार्तिक १४, १५, १६ र १७ गतेका दिनसम्म प्रत्येक दिन बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा कालो पट्टी बाँधी विरोध कार्यक्रम गर्ने र सो कार्यक्रममा सक्रियतापूर्वक सहभागी हुन काठमाडौं उपत्यकामा रहेका बार एकाइका कानुन व्यवसायीज्यूहरूलगायत सम्पूर्ण कानुन व्यवसायीज्यूहरूलाई अनुरोध गर्ने।
मिति २०७४/०७/१६ गते सर्वोच्च अदालत प्रांगणमा धर्ना तथा विरोधसभा गर्ने।
न्यायपालिकाको वर्तमान अवस्था र नेपाल बार एसोसिएसनको निर्णयका बारेमा ९० वटै बार एकाइहरूमा परिपत्र गर्ने र नेबाएको निर्णय कार्यान्वयन गर्न अनुरोध गर्ने।
नेबाएका ९० वटै बार एकाइहरूका अध्यक्ष र सचिवहरूसँग भर्चुअल (जुम) मार्फत छलफल, अन्तरक्रिया र सुझाव संकलन गर्ने।
उल्लिखित कार्यक्रम अवधिभित्र पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रमहरू घोषणा गर्ने।
वर्तमान गठबन्धन सरकारमा ‘भाग’ (आफ्ना मान्छेलाई मन्त्री बनाउनुपर्ने) खोजेको विषय सार्वजनिक भएयता प्रधानन्यायाधीश जबराको विरोध सुरु भएको छ । व्यापक विरोधकै कारण उनका जेठान गजेन्द्र हमालले उद्योगमन्त्री पदमा नियुक्ति पाएको ३ दिनमै राजीनामा दिनु परेको थियो । तर पनि प्रधानन्यायाधीशको विरोध रोकिएको छैन। यसबाहेक अदालतभित्र अनियमितताका अन्य आरोपहरु पनि प्रधानन्यायाधीशविरुद्ध लगाइएका छन ।