मंगलबार संसद् भवन नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको आज किर्तिपुर हस्पिटलमा मृत्यु भएको छ् । बिभिन्न ब्यक्ती, राजनीतिकर्मी, जनताबाट सामाजिक संजालबाट ब्यापकरुपमा राज्य, राज्य संयन्त्र तथा राजनीतिक ब्याक्तीहरुको आलोचना हुँदा पनि शिर्ष तहका नेता हरुबाट कुनै पनि प्रतिकृया आएको छैन ।
आत्मदाह प्रकरणमा छानबिन हुन्छ : गृहमन्त्री रबी लामिछाने 
मंगलबार संसद् भवन नयाँ बानेश्वरमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई भेट्न बुधवार कीर्तिपुर अस्पताल पुगेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले घटनाप्रति दुःख व्यक्त गर्दै बिबिध कुराहरुबाट वाक्क भएर केही गर्नको लागि राजनीतिमा प्रवेश गरेको बताए । अहिलेको राजनीति र प्रशासनिक कुराहरुमा सहभागी बन्न आफू नआएको जिकिर गर्दै देशमा केही गरौँ भन्ने मनशायबाट राजनीतिमा आएको बताए । उनले मृतक आचार्यले उठाएका मागका बारेमा यथेष्ठ छानबिन गर्ने प्रतिबद्धता जनाए ।
गृहमन्त्री रबी लामिछाने भने ‘अहिले दुःखको बेला, अहिले धेरै भन्ने पक्षमा म पनि छैन, यस्तै कुराहरुबाट दिक्क भएर नै केही गर्नुपर्छ भनेर म राजनीतिमा आएको हुँ, नयाँ छु, समय लाग्नसक्छ, उहाँले भन्नुभएको सबै चिजमा म तुरुन्त छानबिन गर्नेछु । हामीबाट भएका कमी कमजोरी पनि हामी हेर्नेछौँ, हामीले छानबिन गर्ने विषयमा छानबिन गर्नेछौँ । म गम्भीर भएर काम गर्नेछु, म भएकै काममा भाग बन्न आएको होइन ।’
प्रेमप्रसाद आचार्यको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता हो: गगन थापा
आज नेपाली कांग्रेसका महामन्त्री गगन थापाले इलामका प्रेमप्रसाद आचार्यले गरेको आत्मदाह राज्य संयन्त्र र सिष्टमको असफलता भएको बताएका छन् । उनले आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्नुपर्ने पनि बताएका छन्।
प्रेमप्रसाद आचार्यको आत्मदाहको घटनाले आज दिनभर मनमा अनेकन कुरा खेलिरहेको छ। उनको अन्तिम पत्रमा उल्लेखित विषय र प्रसंगहरूले त झन पटक-पटक घोचीरहेको छ। यसो सोच्छु-उनको गरिखाने संघर्षका कुनै चरणमा केही भएको वा नभएको भए यस्तो हुदैनथ्यो कि! फेरी सोच्छु-यो कुनै व्यक्तिको असफलता मात्रै होइन यो त हाम्रो राज्य संयन्त्र र समग्र सिष्टमको असफलता हो। म, हामी सिष्टम चलाउनेको असफलता हो। कुनै एउटा पक्षको सामान्य मर्मतले मात्र हाम्रो सिष्टम ठिक हुँदैन। गरिखाने मान्छेले न्यायोचित व्यवहार पाउन यो सिष्टम पूरै मर्मत गर्ने अठोट चाहिएको छ। अब आरोप-प्रत्यारोप वा क्षणिक भावनात्मक आवेग भन्दा पनि उनले पत्रमा उठाएका विषय र प्रसंगलाई सम्बोधन गर्न निरन्तर लागिरहने अठोट गर्न सकियो भनेमात्र यस्तो निराशा र विष्मय कोही नागरिकले भोग्नु नपर्ला !
राज्यका हरेक तप्का, निकाय अंगहरु असफल भएका छन: मेयर बालेन्द्र शाह
आचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन् । एकजना नागरिक आफुले देखेको प्रगतिको चाहनाका लागि सक्ने सबै कर्म गर्छन् । एकजना नागरिक आफुले चिनेको वा जानेको सबैलाई आफ्नो विगत र आगत वर्णन गरेर आत्महत्या गर्न लागेको खबर गर्छन् । एकजना नागरिक संसद भवनको अगाडि आफुमाथि पेट्रोल खन्याएर आत्मदाह गर्छन् । त्यो आत्मदाहका धेरै कारण र धेरै संकेतहरु होलान् तर सबै भन्दा ठुलो कारण राज्य हो । र, सबै भन्दा भयानक संकेत राज्यको चरम असफलताको हो । उनको व्यवसायमा, उनको निराशामा, उनको सहयोगको याचनामा, उनको सुरक्षामा, उनको उद्दारमा, उनले भोगेको हरेक चरणमा राज्य असफल भएको छ । राज्यका हरेक तप्का, निकाय र अंगहरु असफल भएका छन् ।
नागरिककारुपमा, जनप्रतिनिधीकारुपमा, सत्ताका अगुवाकारुपमा, सञ्चारमाध्यमकारुपमा हामी सबै असफल भइरहेका छौँ । नागरिकले गर्नु पर्ने सामान्य दायीत्व पुरा गर्नु पर्ने चेत हाम्रो छैन । हामीलाई नियम नमान्दा र पालो मिच्दा असामान्य हो भन्ने लाग्दैन । जनप्रतिनिधीकारुपमा नियम पालना गर्न र गराउन सफा नियतले अगाडि बढ्ने हिम्मत हाम्रो छैन । प्यारो नभइएला र अर्को पटक फेरि छानिन नपाइएला कि भन्ने शंकामा नमिठो बोल्नु हुन्न भन्ने सोचाइ छ । सत्ताका अगुवाकारुपमा त्यो सबै समिकरणलाई प्रगतिका लागि चलायमान बनाउनु भन्दा सत्तास्वार्थका लागि राजनीतिलाई अस्थिर बनाउनमा ध्यानमग्न छौँ । सञ्चारमाध्यमकारुपमा कसैको व्यवसाय प्रवर्द्धन गर्न वा सहयोग हुने थप अध्ययन र समाचारहरु तयार पार्ने बारेमा रुचि छैन । कुनै अमुक पदमा भएको व्यक्तिले फेसबुकमा के लेख्छ, के कमेन्ट गर्छ भनेर ठुला ठुला समाचार बनाउनुमा व्यस्त छौँ ।
एकैपल्ट यति धेरै कुराहरु गलत बाटोमा लागेर एकैपल्ट असफल हुँदा प्रेमप्रसाद आचार्यले त्यसको विद्रोह गरेका हुन् । त्यो विद्रोह हाम्रो समयको पछिल्लो सबैभन्दा विस्मयकारी घटना हो । उनीप्रति हार्दिक श्रद्धाञ्जली तथा उनको परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु ।
कुनै पनि अर्को व्यक्तिले प्रेमप्रसाद आचार्यको जस्तो नियति भोग्न नपरोस् भनेर महानगरले सिप सिक्ने र ति सिपहरुको जीवनस्तर वृद्धिमा प्रयोग हुने संरचनाहरुको निर्माण गर्नेमा असाध्यै संवदेनशील भएर काम गरिरहेको छ भने उनको मागहरू मध्ये काठमाडौं महानगर क्षेत्रको क्षेत्राधिकारमा पर्ने कामहरू पनि हुदै छन् । नागरिक तहदेखि संघीय सरकारसम्म सबैले आफ्नो भुमिकाबाट कठोर भइ निभाउन अपिल गर्दछु । सबैले नियमको पालना गरौँ । सबैले नियमभित्र रहेर व्यवहार गरौँ । फेरि पनि प्रेमप्रसाद आचार्यप्रति हार्दिक श्रद्धाञ्जली छ ।