सोमबार, भाद्र १ गते २०८३
images

पाँचथरको मिक्लाजुङ–३ मा दुई परिवारका ९ जनाको विभत्स हत्या

  • 17.8K
    SHARES
  • जेठ ७, २०७६ मंगलबार

    पाँचथर । पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा दुई परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ ।

    सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको पाँचथर प्रहरीले जनाएको छ।

    धनराजको परिवारका पाँच जना र बमबहादुरको परिवारका चार जनाको हत्या भएको हो । हत्या भएकाहरुको शव विभत्स अवस्थामा घर बारिह र भित्र छरिएका छन् । घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।

    हत्या गरिएकामा ७४ वर्षीय बमबहादुर फियाक,३६ वर्षीया जस्मिता फियाक, २६ वर्षीया मनकुमारी फियाक, ४१ वर्षीय धनराज शेर्मा, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, ८ वर्षीया मुना शेर्मा, नाम पहिचान नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

    मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको बताइएको छ ।

    ९ जनाको विभत्स हत्या भएको स्थानबाट केही किलोमिटर पर अर्का एक युवकको शव भेटिएको छ । मिक्लाजुङको वडा नं ८ मा मानबहादुर माखिमको शव भेटिएको हो ।

    केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले घटनास्थलबाट पैदल हिँड्दा करिब डेढ दुई घन्टा लाग्ने दूरीमा शव भेटिएको जानकारी आएको बताएका छन । उनका अनुसार अहिले जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रमुख घटनास्थलतर्फ गइरहेका छन् ।

    अनुसन्धान अधिकारीले दुवै घटनालाई जोडेर अनुसन्धान थालेको १ नं. प्रदेश प्रहरी कार्यालयले जनाएको छ । घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र प्रदेश १ प्रहरी कार्यालयको टोली त्यसतर्फ गइसकेको छ ।

    तालिम प्राप्त कुकुरलाई पनि अनुसन्धानका लागि प्रयोगमा ल्याइएको छ भने जिल्लाका सम्पूर्ण नाका सिल गरिएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार