जनकपुरधाम । धनुषाको मिथिला नगरपालिका ६ बस्ने सत्रुधन साहको अढाई वर्षीय छोरा आर्यन भनिने समिर साहलाई बलीको नाउँमा हत्या गर्ने झाक्रीलाई प्रहरीले पक्राउ गरेको छ । गत वैशाख २३ गते हराएका बालक आर्यनको शव वैशाख २४ गते विहान स्थानीय कृष्णानन्दन महतोको बारीमा हत्या गरी फालिएको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय धनुषा, प्रदेश प्रहरी र संघीय प्रहरी ईकाइले संयुक्त रुपमा ६५ जनासंग बयान लिएको आधारमा धामीझाँक्रीको कला सिक्दै आएका ५५ वर्षीय शत्रुधन महतोलाई पक्राउ गरेको हो । महतोको बयानको आधारमा बालक आर्यनको बली सिद्धि प्राप्ती गर्ने नाउँमा हत्या गरिएको रहस्य खुलेको छ ।
बलि दिएपछि आफु शक्तिशाली हुने अन्ध विश्वासमा हत्या गरिएको धनुषाका प्रहरी प्रमुख शेखर खनालले बताएका छन । हत्या गर्ने झाक्री महतोलाई प्रहरीले पक्राउ गरी घटनाको झण्डै तीनसाता पछि बिहीबार विहान पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । वैशाख २३ गते साँझ आर्यनको आमा रेनुदेवी घाँस काट्न गएको मौकाछोपी झाक्री महतोले बालकलाई ललाईफकाई आफ्नै घरको दैलोबाट अपहरण गरेको थियो ।
सोही राति झाक्री महतोले बालकलाई लुकाएर राखेको र राति २ बजे सिद्धि प्राप्ती हुने अन्ध विश्वासमा आफ्नै आंगनमा धारिलो हतियार प्रहार गरी देवी देउताको नाममा बालकको घाँटी रेटेर बलिको नाउँमा हत्या गरेका थिए । बलि पश्चात बालकलाई कृष्णानन्दको झाडीमा बालकको शवलाई फालेका थिए । त्यसपछि उनले बालकलाई बलि दिएको हतियार र लुगाकपडा समेत धोइपखाल गरी नुहाएका समेत थिए । झाक्री महतो घरपरिवारका सदस्यहरु उपचार गराउन बाहिर गएको र घरमा कोहि नभएको मौका छोपी बालकको निर्दयतापूर्वक बलि दिएको अनुसन्धानबाट खुलेको उपरीक्षक खनालले बताएका छन ।
बालक आर्यन विरामी हुँदा समेत झाक्री महतोले झारफुक गर्ने गरेका थिए । झाक्रीको घर बालक आर्यनको घरबाट करिब एकसय मिटरको दुरीमा रहेको छ । बालक आर्यनको बुबा वैदेशिक रोजगारमा छन् । बालक आर्यन आमाबुबाको एकलो छोरा थिए । बालकको हत्यामा प्रयोग गरेको घरेलु हतियार र लुगाकपडा समेत प्रहरीले बरामद गरेको छ । बालकका हजुरबुबा पिताम्बर साह हलुवाइको झाक्री महतोमाथि दिएको अपहरण शरीर बन्धक राखि हत्या गरेको ज्यान सम्बन्धी मुद्दामा कार्वाही प्रक्रिया अगाडी बढाइएको प्रहरी उपरीक्षक खनालले जानकारी दिएका छन ।