नुवाकोटको प्रसिद्ध धार्मिकस्थल दुप्चेश्वर महादेव मन्दिरमा प्रत्येक बर्ष मङ्सिर पूर्णिमामा लाग्ने मेला सुरु भएको छ । यो मेला पांच दिनसम्म चल्नेछ । दुप्चेश्वर महादेव नुवाकोट जिल्लाको दुप्चेश्वर गाउँपालिका वडा न. २ मा अवस्थित प्रसिद्ध धार्मिक पर्यटकीय स्थल समेत रहेको छ । यस मन्दिरमा धान्य पूर्णिमाको अघिल्लो दिन चतुर्दशीदेखि पूर्णिमाको दिनसम्म मेला लाग्ने गर्दछ । भक्तजनहरुले पूजाआराधना गर्ने तथा भगवान् शिव महादेवप्रतिको आस्थाभाव प्रकट गर्दै आफुले चाहेको बर माग्ने परम्परा रहेको छ ।
यस बेला दुप्चेश्वर महादेवको दर्शन गर्न काठमाण्डौं, धादिङ, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक लगायत देशका विभिन्न ठाउँहरुबाट वर्षेनी लाखौ भक्तजनहरु महादेवसँग वरदान माग्न आउने गरेका छन् । यहाँ मागेको पाउने आटेको पुग्ने बिश्वास गरिन्छ । पशुपतिनाथको दोश्रो रुप मानिने नुवाकोटको यो प्रसिद्ध धार्मिकस्थल काठमाडौँदेखि ६० किमी र बिदुरदेखि ४० किलोमिटर उत्तर-पूर्वमा रहेको छ । विशेषत यस धार्मिकस्थलमा सन्तान नहुनेहरू सन्तान माग्न आउने गरेको जन-विश्वास रहेको छ ।
काठमाडौंबाट कसरी पुग्न सकिन्छ
काठमाडौंबाट जाने यात्रुहरु काठमाडौंको टोखा-छहरे सडकखण्ड हुँदै चौघडा-खरानिटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिव ५५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ भने धादिङ गल्छी हुँदै यात्रा गर्ने यात्रुहरु भने देबिघाटबाट गंगटे-ढिकुरे-माछापोखरी- खरानिटार-समुन्द्रटार हुँदै दुप्चेश्वर मन्दिर करिव ८५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ।
के भन्छ किमदन्ति
पौराणिक कथनअनुसार पाँच सय वर्षअघि स्थानीय एक तामाङको दुहुनो गाई हराएपछि खोजी गर्दै जाँदा पहरोमा दुध चढाइरहेको भेटिएकाले उक्त ठाउँमा दुग्धेश्वर महादेव रहेको विश्वासमा प्रत्येक वर्ष धान्य पूर्णिमाका दिन विशेष मेला लाग्दै आएको छ ।यस मेलामा तामाङ, शेर्पा,गुरुङ जातिका परम्परागत संस्कृतिको प्रदर्शन र स्थानीय उत्पादनहरूको बिक्री वितरण समेत हुने गरेको छ । जात्रा हेर्ने र दर्शन गर्ने दर्शनार्थीहरुको यो बेला ठुलो भिड समेत लाग्ने गरेको छ ।
किमदन्ति अनुसार समुन्द्रमन्थन गर्दा निक्लिएको विष सेवनपछि छट्पटीएका महादेव पशुपतिनाथ मन्दिर हुँदै दुप्चेश्वरमा वास बसेर रसुवाको गोसाइँकुण्ड गएको उल्लेख छ । दुप्चेश्वर महादेवलाई सानो पशुपतिनाथको रूपमा पुज्ने गरिन्छ । मेलाको विशेष रौनक चतुर्दशी र पूर्णिमाको दिन हुने गर्दछ । जोडी जुराउन र सन्तान माग्नकै लागी पनि यहाँ भक्तजनहरु आउने गर्दछन् ।
सन्तान नभए सन्तान दिने (बिशेष - छोरा ) , चौपायाहरू नब्याएमा दाम्लो चढाएमा गर्भाधान हुने, बालबालिकको बोली नफुट्नेमा बोली फुट्ने , जे माग्यो त्यो सबै पूरा हुने लगायतका जनविश्वासमा भक्तजनहरू आउने गरेका छन् । हिन्दू र वौद्ध धर्मालम्बीहरुले दोस्रो पशुपतिनाथको रुपमा यस दुप्चेश्वर महादेवलाइ मान्दै आएका छन् ।
आन्तरिक पर्यटनको प्रचुर सम्भावना
यो मन्दिरले आन्तरिक र बाह्य पर्यटकको आगमनको प्रचुर सम्भावना समेत बोकेको छ । काठमाडौंदेखि दुप्चेश्वर मन्दिर करिव ५५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ भने धादिङ गल्छी हुँदै यात्रा गर्ने यात्रुहरु भने दुप्चेश्वर मन्दिर करिव ८५ किलोमिटर यात्रा गर्दा पुग्न सकिन्छ ।
हिमालको फेदमा रहेको यो मन्दिर पवित्र तादी खोलामा अवस्थित रहेको छ ।धार्मिक पर्यटनको गन्तव्यको लागि गतिलो सम्भावना बोकेको दुर्गम क्षेत्रमा रहेको यस धार्मिकस्थलको सरकारी स्तरबाट प्रचारप्रसार हुन सके आन्तरिक एवम् वाह्य पर्यटकहरु सजिलै भित्र्याउन सकिन्छ ।