सोमबार, भाद्र १ गते २०८३
images

नेपाल–चीन व्यापारमा भाषा विवाद, निर्यात अवरुद्ध

  • 4.8K
    SHARES
  • पौष २, २०७६ बुधबार

    काठमाडौं । चीनले नेपालबाट आफ्नो देशमा आयात हुने वस्तुमा चाइनिज भाषामै लेवल अनिवार्य गरेपछि दुई देशबीच नयाँ व्यापारिक मुद्दा उब्जेको छ । चीनको नयाँ नीतिले नेपालबाट खाद्यवस्तुको निर्यात रोकिएको छ ।

    नेपाल र चीनबीच वाणिज्य तहमा खाद्यवस्तु आयात र निर्यातमा सहजीकरण गर्न भएको सम्झौताविपरीत चिनियाँ पक्षले नयाँ नियम लागू गरेको हो । खाद्यवस्तुको लेवलमा लेखिने भाषाकै विवादले दुई देशबीच हुने खाद्यवस्तु आयात-निर्यात तीन महिनादेखि ठप्प बनेको रसुवा भन्सार कार्यालयले जनाएको छ ।
    चिनियाँ भाषामा लेभल नलेखिएको भन्दै नेपाली पक्षले निर्यात गर्न लागेको चाउचाउ, बिस्कुट, चुइगम, पिठो, चकलेटजस्ता खाद्यन्नको भन्सार जाँच पास चीनियाँ पक्षले ठप्प बनाएको रसुवा भन्सार प्रमुख पुण्य विक्रम खड्काले जानकारी दिएका छन ।

    ‘भदौ अघिसम्म नियमित आयात निर्यात भइरहेको त्यस्ता खाद्यवस्तु चार महिनादेखि रोकिएका छन्,’ भन्सार प्रमुख पुण्यविक्रम खड्काले भने ।

    खड्काका अनुसार, सीमा क्षेत्रका चिनियाँले प्रयोग गर्ने वस्तुमा उल्लेखित नेपाली र अंग्रेजी भाषाको लेवल नबुझिने भएकाले आयात रोकेको जवाफ चिनियाँ पक्षले दिएका छन् । चिनियाँ पक्षले खाद्यान्नमा चिनियाँ लेभल नभएकै कारण रोकिए दिएपछि नेपाली पक्षले पनि चिनियाँ भाषामा मात्रै लेभल भएका वस्तु आयात रोक्न थालेको छ ।

    नेपालको गुणस्तर र क्वारेन्टाइन कानुनले नेपाली वा अन्तर्राष्ट्रिय भाषा अंग्रेजीमा लेभल उल्लेख नभएको वस्तु आयातमा कडाइ गर्न सक्ने व्यवस्था गरेको छ । अंग्रेजी भाषामा वा नेपाली लेभल नभएका बिस्कुट, चकलेट, ब्रेडका परिकार, मसला, कुखुराको तारेको मासु तथा माछाका परिकारहरुको भन्सार पास नगरिएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।

    ‘खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र क्वारेन्टाइनले आफ्नो अनुमतिबिना भन्सार पास नगर्न गरेको आग्रहपछि भन्सार पास रोकिएको छ,’ भन्सार प्रमुख खड्काले भने ।
    केही समयअघि दुई देशका वाणिज्य अधिकारीबीच तातोपानी नाकामा भएको छलफलमा अंग्रेजी भाषाको लेवल मान्ने विषयमा चिनियाँ पक्षले सैद्धान्तिक सहमति जनाएको थियो । माथिल्लो तहमा भएको सहमति कार्यान्वयन तहसम्म नआइपुगेको भन्सार प्रमुख खड्काले बताएका छन ।

    निकासी नहुनेबितिक्कै व्यवसायीले वस्तुहरु फिर्ता लैजाने भएकाले निकासी नभएको वस्तुको परिमाण भने यकिन गर्न नसकिएको भन्सार कार्यालयले जनाएको छ ।

    पछिल्लो घटनाक्रमबारे वाणिज्य मन्त्रालयले चिनियाँ पक्षलाई लिखित रूपमा सहजीकरणको लागि पत्राचार गरेको उद्योग वाणिज्य तथा आपू्िर्त मन्त्रालयका प्रवक्ता एवं सहसचिव दिनेश भट्टराईले जानकारी दिएका छन। अंग्रेजी महिनाको नयाँ वर्षसँगै दुई देशबीचको खाद्यवस्तु आयात निर्यातको अवरोध हटाउने गरी छलफलको तयारी अघि बढेको मन्त्रालयले जनाएको छ ।

    यता तातोपानी भन्सार नाकाबाट भने कुनै पनि वस्तुको निर्यात ठप्प रहेको भन्सार कार्यालयले जनाएको छ । ‘पैठारी भई रहेता पनि निकासी शून्य छ’, तातोपानी भन्सार कार्यालयका सूचना अधिकारी केशव ओलीले भने ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार