काठमाडौँ । सार्वजानिक बिदा समावेश नगरी विसं २०७६ को पात्रो (पञ्चाङ्ग) प्रकाशन भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
समितिले विसं २०७६ का लागि तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, सूर्य, आकाश दर्शन, बगलामुखी, शुभ, बाबा गोरखनाथ, कीर्ति र सिद्धि गरी १३ वटा पात्रो (पञ्चाङ्ग)लाई स्वीकृति दिएको छ ।
समितिमा सरकारले नियुक्त गरेका धर्मशास्त्रविद् विद्वानको छलफलमा आगामी वर्षको चाडबाडसम्बन्धी निर्णय गरिएकाले स्वीकृत पात्रो प्रयोग गर्न समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले आह्वान गरेका छन् ।
आफूखुशी निस्कने पात्रोका कारण मानिसमा चाडबाडसम्बन्धी भ्रम सिर्जना हुने गरेको छ । गृह मन्त्रालयले विसं २०७६ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको उनले बताए ।
यसअघि २०७४ र २०७५ सालमा पनि सार्वजनिक बिदा नराखी पात्रो प्रकाशन गरिएको थियो । ‘सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरे बमोजिम हुनेछ’ भन्ने सूचना पात्रोमा राखिएको गौतमले जानकारी दिए ।
समितिमा सरकारले नियुक्त गरेका विद्वान्हरूको समूहले २०७६ सालमा पर्ने चाडपर्वको निर्णय गरी पात्रोमा समावेश गरेको छ । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा चाडपर्व फरक पर्ने गरेकाले यससम्बन्धी कारवाहीका लागि गृह र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ ।