मंगलबार, भाद्र २ गते २०८३
images

क्रिकेट रङ्गशाला बनाउन धुर्मुस सुन्तलीलाई मलेसियाबाट ३५ लाख सहयोग

  • 4.8K
    SHARES
  • फाल्गुण १, २०७५ बुधबार

    काठमाडौं । गौतम बुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको घोषणा गरेको धर्मुस सुन्तली फाउण्डेशनले आर्थिक सङ्कलन अभियानलाई तीव्र बनाएको छ । 

    चितवनमा गौतमबुद्व अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला बनाउने घोषणा गरेका अभियान्ता सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे(सुन्तली) अहिले विश्वका विभिन्न देशमा कार्यक्रमको आयोजना गर्दै रकम सङ्कलन गरिरहेका छन् । उनीहरुले यसै साता क्रिकेट मैदान निर्माणका लागि मलेसियाका तीनवटा शहरमा ‘धुर्मुस सुन्तली साँझ’ कार्यक्रमको आयोजना गरी रु ३५ लाख सङ्कलन गरेका छन् । 

    फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले सामाजिक सञ्जालमार्फत मलेसियाको तीनवटा शहर क्वालालामपुर, जोहोरबाहु र पेनाङमा भएको मनोरञ्जनात्मक कार्यक्रममार्फत रु ३५ लाखभन्दा बढी रकम सङ्कलन भएको जानकारी दिएका छन । 

    रङ्गशाला निर्माणको घोषणापछि सहयोग जुटाउन अहिले उनीहरु मलेसियामा छन । कट्टेलका अनुसार नेपाली समुदायबाट रु २० लाख ७१ हजार र कार्यक्रम आयोजक सिटी एक्सप्रेसबाट रु १५ लाख गरी रु ३५ लाख ७१ हजार सङ्कलन भएको हो । 

    अभियान्ता कट्टेलले मलेसियामा रहेका नेपालीले देखाएको उत्साह र सहयोगले निकै हौसला मिलेको बताउँदै अझै धेरै सहयोग प्राप्त हुने विश्वास व्यक्त गरेका छन । रङ्गशाला निर्माणको सहयोगार्थ सिटी एक्सप्रेसले ‘धुर्मुस सुन्तली साँझ’को आयोजना गरेको थियो । 

    मलेसियापछि अन्य मुलुकमा पनि यस्तै कार्यक्रम गर्नेबारे छलफल भइरहेको बताउँदै कट्टेलले रङ्गशाला निर्माणका लागि आवश्यक रु दुई अर्ब रकम फाउण्डेशन आफैँले मात्र जुटाउन कठिन हुने भन्दै सबैसँग सहयोगको आग्रह गरेका छन । “रङ्गशाला निर्माणको सहयोगार्थ जुन उद्देश्य लिएर हामी मलेसिया आएका थियौँ । मलेसियामा रहनुभएका नेपाली दिदीबहिनी दाजुभाइबाट हामीले सोँचेभन्दा पनि राम्रो साथ सहयोग र सद्भाव पाएका छौं ।” 

    फाउण्डेशनले नेपालमा पहिलो अत्याधुनिक सुविधासम्पन्न अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला चितवनको भरतपुर महानगरपालिका–१६ स्थित रामपुर विश्वविद्यालयको स्वामित्वमा रहेको २० बिघा जग्गामा निर्माण प्रक्रिया शुरु गरेको हो । हाल रङ्गशालाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयारीको काम भइरहेको छ भने महीनाभित्र डिपिआर तयार गरी त्यसपछि दुई वर्षभित्र रङ्गशाला निर्माण गरिसक्ने लक्ष राखिएको छ । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार