सरुवा भएको ठाउँमा हाजिर हुन नगएपछि ३ नम्बर प्रदेश प्रहरी कार्यालय हेटौंडाले चितवनका एसपी दानबहादुर मल्ललाई १२ घण्टाभित्र रमाना हुन निर्देशन दिएको भएपनि प्रहरी प्रमुख एसपी मल्लले प्रदेश प्रहरी कार्यालयको निर्देशन अवज्ञा गरेका छन् । नेकपाका अध्यक्ष प्रचण्डका पूर्वनिजी सुरक्षा अधिकृतसमेत रहेका मल्लले प्रचण्डसँगकै सम्बन्धका कारण डीएसपी हुँदा आकर्षक मानिने काठमाडौंको दरबारमार्ग प्रहरी वृत्तको नेतृत्व गर्ने अवसरसमेत पाएका थिए ।
तर मल्लले आफ्नो सरुवामा ‘कसैले खेल्न खोजेको’ आरोप लगाएका छन् । आफ्नो समय नपुग्दै सरुवा गर्न खोजिएको भन्दै उनि चितवनमै बस्न लबिङ गरिरहेका छन् । चितवनमा सरुवा गरिएकी गंगा पन्त मल्लले चितवन नछोडेपछी काठमाडौंमै छिन् । मल्ललाई गत साता प्रहरी प्रधान कार्यालयले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा सरुवा गरेको थियो ।
मल्ललाई प्रदेश प्रहरी कार्यालयले बुधवार साँझ लिखित पत्रमार्फत त्यहाँ कार्यरत डिएसपीलाई चार्ज बुझाई १२ घण्टाभित्र तोकिएको दरवन्दीमा रवाना गरी सोको जानकारी दिन भनेको थियो । यो पत्रअनुसार उनले आजै साँझसम्म त्रिभवुन विमानस्थल सुरक्षा कार्यालयमा हाजिर भइसक्नुपर्ने रहेको थियो तर उनले अहिलेसम्म चितवन छाडेका छैनन् । उनीसहित २४ एसपीको सरुवा भएकोमा मल्ल भने अहिलेसम्म निर्देशनलाई लत्याउँदै जिल्लामै बसेका छन् ।
