बुधबार, कार्तिक १९ गते २०८३
images

दरवार हत्याकाण्ड १९ बर्ष : घटना अझै रहस्यमय , स्वतन्त्र र निष्पक्ष छानबिन हुन सकेन

  • 9.4K
    SHARES
  • जेठ १९, २०७७ सोमबार

    आज जेष्ठ १९ अर्थात् नेपालको इतिहासको कालो दिन, जुन दिन नेपालको दसौ शाहवंशीय राजा र उनको स-परिवारको हत्या भयो । विसं २०५८ साल जेष्ठ १९ गते रातको ९:१५ बजे नारायाणहिटि राजदरबारमा राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको हत्याकाण्डले विश्वभरी नै सनसनी मच्चाएको थियो। अहिलेसम्म यो हत्याकाण्ड रहस्यमय नै छ । नेपाली इतिहासमा कयौ हत्याकाण्ड भयो जुन कोतपर्व,भण्डारखाल पर्व त धेरै पहिले भए त्यस पश्चात पनि हत्याको शृंखला रोकिएन । दरवार हत्याकाण्डमा राजा विरेन्द्र,रानी एश्वर्य, राजा दिपेन्द्र (तत्कालिन युवराज तर १९ घण्टा राजा घोषित ),राजकुमार निराजन,राजकुमारी श्रुति,राजकुमार धिरेन्द्र् (राजा वीरेन्द्रका कान्छा भाइ), राजकुमारी शान्ती (राजा वीरेन्द्रकी बहिनी),राजकुमारी शारदा (राजा वीरेन्द्रकी बहिनी),राजकुमारी जयन्ती ‌ (राजा वीरेन्द्रकी नजिककी बहिनी),कुमार खड्ग (राजकुमारी शारदाका श्रीमान्) र अन्य राजपरिवारका सदस्यहरू सहित तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको थियो ।

     

    उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको यो हत्याकान्ड अहिलेसम्म रहस्यकै गर्भमा रहेको छ । त्यो कहालीलाग्दो रातको सम्झनाले अहिले पनि हरेक नेपालीको मन झस्काउने गर्दछ । पारिवारिक जमघटका बेला उत्त हत्याकाण्ड भएको थियो । आज दरबार हत्याकाण्ड भएको पनि १९ वर्ष पुगिसकेको छ तर हत्यारा को थिए अझ नेपालीले जवाफ पाएका छैनन् । के युवराज दीपेन्द्रले नै आफ्नो सम्पूर्ण परिवार मारेको हो त ? यो कुरा पत्याउन आम नेपाली तयार छैनन् जति समय बित्दैछ, घटना झनै रहस्यमय बन्दैछ । तत्कालीन सरकारले गठन गरेको प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले पूर्वयुवराज दीपेन्द्रले नशाको सनकमा गोली चलाएको भन्दै घटनाको दोषी युवराज दीपेन्द्रलाई दोषी देखाउदै प्रतिवेदन सार्वजनिक गर्यो । तत्कालीन सभामुख तारानाथ रानाभाटले त्यो छानविन प्रतिवेदन सार्बजनिक गरेका थिए । त्यस हत्याकाण्डमा जति जना बाँच्न सफल भए, उनीहरुले घटनाको सत्यतथ्य सार्वजनिक गर्ने साहस समेत गर्न सकेनन् । हत्याकाण्डको करिव ७ वर्षपछि २०६५ जेठ १५ गते देशबाट राजतन्त्र सदाको लागि बिदा भयो । राजतन्त्र अन्त्य भइ देशमा गणतन्त्र स्थापना भइसक्दा समेत राजा विरेन्द्र नेपालीहरुको मन-मस्तिष्कबाट हटेका छैनन् ।

    उदार छवि बनाएका राजा वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन । रानाभाटले सार्वजनीक गरेको प्रतिवेदनपछी हालसम्म यस घटनाको कुनै स्वतन्त्र निष्पक्ष छानबिन (अनुसन्धान) हुन सकेन । जतिसुकै आशंका र अनुमान गरिए पनि घटना अहिलेसम्म रहस्यमय नै छ ।राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए । तर उनी नै नेपालको इतिहासमा अन्तिम राजा बने भने २४० बर्ष शाषन गरेको राजतन्त्र बिधिबत रुपमा सदाको लागि बिदा भयो । घटनापछी त्यसको आरोप तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालामाथि लाग्यो । सैनिक अस्पतालदेखि आर्यघाटसम्म कोइरालालाई हत्यारा भन्दै ढुंगामुढा वर्षाइयो । यस बिषयमा गिरिजाप्रसाद बोल्न सकेनन् । गिरिजाले विभिन्न समयमा दिएका अन्तर्वार्ताहरुमा उनलाई धेरै ढिलो मात्र दरबार हत्याकाण्डको बारेमा थाहा भएको बताएका छन् । दरबार हत्याकाण्डमा कोइरालाले खासै केही नबोले पनि उनले घटनालाई ग्य्रान्ड डिजाइनको संज्ञा दिएका थिए । उनले यस बारेमा खुलासा गर्न चाहेनन् । राजदरबारका पूर्वसैनिक सचिव विवेक शाहले लेखेको ‘मैले देखेको दरबार’ नामको पुस्तकमा दरबार हत्याकाण्डलाई नियोजित षड्यन्त्र भनेर उल्लेख गरिएको छ । कोइराला दरबार पुग्दा सुनसान थियो र हत्या भएको स्थलमा सम्पूर्ण रगत पखालिएको थियो ।

    हत्या स्थलमा रगत पखाल्नुको कारणले पनि घटनालाई सुनियोजित भन्न सकिन्छ । अहिले वीरेन्द्रको वंश विनाश भएको घटनास्थललाई नै भत्काएर प्रमाण नष्ट गरिएको छ । घटना घटेको स्थललाई किन भत्काइयो भन्ने कोहीसँग जवाफ छैन । राजा बिरेन्द्र माओवादी विद्रोहको कारण खोजी समाधानको बाटो लिनुपर्छ भन्ने गर्दथे भने नेपालमा कसैको रगत नबगोस भन्ने चाहन्थे । माओवादी अध्यक्ष प्रचण्डले राजा वीरेन्द्र र मदन भण्डारीको हत्या भारतले गरेको भन्दै खुलम-खुल्ला भाषण गरे । युद्दमा रहँदा हत्याको सत्यतथ्य बाहिर आउनुपर्छ भने तर आफु दुइ पटक प्रधानमन्त्री हुँदा यस बारेमा एक शब्दसम्म पनि उच्चारण गरेनन् । उतिबेला मदन भण्डारीको हत्यासँगै सडक संघर्षमा उत्रिएको एमाले पनि पाँच पटक सरकारको नेतृत्व गर्दा समेत हत्याका बारेमा एक शब्द पनि बोलेन । अहिले त झन् बहुमतको पार्टी नेकपा छ भने दुई तिहाइको सरकार छ तर चुपचाप छ । यस्ता हत्याकाण्डहरु राजनीतिक शक्तिहरुलाई सत्तामा पुर्याउने भर्याङ मात्र बन्यो । राजा ज्ञानेन्द्रले तत्कालीन अवस्थामा अनावश्यक महत्वकांक्षा देखाउदा र राजनीतिक दलहरुलाई पाखा लगाउँदै राजा महेन्द्रको पञ्चायती मोडललाई ब्युँताउने प्रयास गरे भने उनले आम नेपाली जनताको जनचेतना र अन्तर्राष्ट्रिय परिवेशलाई बुझ्न नसक्दा शक्तिशाली राजा बन्ने ज्ञानेन्द्रको सपना धेरै वर्षसम्म टिक्न सकेन ।

     

    दरबार हत्याकाण्डपछि विकसित राजनीतिक घटनाक्रमले युद्दमा रहेको माओवादीलाई शान्तिपूर्ण संसदीय राजनीतिमा अवतरण गर्न र पुराना संसद्वादी दलहरुलाई लोकतान्त्रिक गणतन्त्रको बाटोमा लाग्न उपयुक्त वातावरण तयार गर्यो । यदि दरबार हत्याकाण्ड नभएको भए देशमा यति छिटो गणतन्त्रको स्थापना हुने थिएन विश्लेषकहरु भन्ने गर्छन् । हत्याकाण्ड हुनुभन्दा ठीकअगाडि राजा वीरेन्द्रले तत्कालीन माओवादीसँग वार्ता गर्ने वातावरण तयार गर्दे थिए, जुन तथ्यलाई स्वयं माओवादीका नेताहरुले पनि पुष्टि गर्दै आएका छन् । प्रहरी माओवादीसँग लडिरहँदा सेना चुपचाप बसिरहेको थियो । सेना परिचालन गरेमा धेरै मानिसको ज्यान जान्छ भन्ने वीरेन्द्रको मनोभावना देखिन्थ्यो । तत्कालिन माओवादी नेता डा. बाबुराम भट्टराईले जेठ २४ गते कान्तिपुरमा एक लेख छपाएर दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्रको हात छ भनेर प्रकाशित गराए । त्यो लेखले नेपाली समाजमा वास्तवमा ठूलो भ्रम खडा गरेको थियो । त्यसपछि दरबार हत्याकाण्डमा राजा ज्ञानेन्द्र र पारसलाई दोष लगाइयो । सेना परिचालनको विषयलाई लिएर तत्कालीन प्रधानमन्त्री र राजाको बीचमा विवाद देखियो ।

    माओवादी राष्ट्रियताको मुद्दामा दरबारसँग नजिक देखिन्थ्यो र भारतीय विस्तारवादको विरोध गर्दथ्यो । दरबार हत्याकाण्डपछि मात्र माओवादी उग्र रुपमा दरबारको विरूद्धमा उत्रिएको थियो । नेपाली सेनालाई तालिमका निमित्त आवश्यक पर्ने हातहतियार चीनसँग खरिद गरेपछि भारत सशंकित भएको र राजीव गान्धीसँग राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्बन्ध चिसिन गएको कारण पनि यो हत्याकाण्ड रचिएको हुनसक्ने अनुमान छ । नेपालको शान्ति क्षेत्र प्रस्तावलाई भारतले अस्वीकार गरिरहेको थियो भने सार्क राष्ट्रको संगठनमा राजा वीरेन्द्रको भूमिकाप्रति भारत खुसी थिएन । प्रेममा पागल भएर दीपेन्द्रले त्यो घटना घटाएको भनियो भने हत्याकाण्डलाई ज्ञानेन्द्रले गराएको भनि गलत प्रचार गरियो । दरबार हत्याकाण्ड, ज्ञानेन्द्रको प्रत्यक्ष शासन र माओवादी विद्रोहको कहालीलाग्दो अवस्थाबाट आएको लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर देशमा शान्ति र समृद्धि स्थापना गर्न सकेमा नै स्वर्गीय राजा वीरेन्द्रको सच्चा श्रद्धाञ्जली हुनेछ । स्वर्गीय राजा वीरेन्द्रका विचारहरु आजसम्म समय सान्दर्भिक र अनुकरणीय छन् । देशमा गणतन्त्र आए पनि उनको नरम, शिष्ट र भद्र शैलीले उनि सबै नेपालीको मन र मस्तिष्कमा सधैँ ताजा भएर रहिरहने छन् ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार