शनिबार, श्रावण ३० गते २०८३
images

सशस्त्र द्वन्द्व र कार्गिल युद्धमा असफल हतियार अब सेनाबाट सशस्त्र प्रहरीमा

  • 7.6K
    SHARES
  • श्रावण १५, २०७७ बिहीबार

    नेपालमा सशस्त्र द्वन्द्वकालमा काम नलाग्ने देखिएको र भारतमै पनि विस्थापित हुँदै गरेका इन्सास राइफल नेपाली सेनाले बुधबार सशस्त्र प्रहरी बललाई हस्तान्तरण गरेको छ । शान्ति मिसनमा प्रयोगका लागि सशस्त्रलाई सेनाले ६ सय थान इन्सास दिएको हो । मन्त्रिपरिषद्को १५ असारको निर्णयअनुसार हतियार बुधबार हस्तान्तरण भएको हो ।सशस्त्रलाई दिइएको ५।५६ मिलिमिटर क्यालिबरको एसल्ट राइफल पश्चिमबंगालको इच्छापुरस्थित राइफल फ्याक्ट्री इसापुर (इसापुर आर्सेनल)मा बनेका हुन् ।

    यो भारत सरकारको स्वामित्वमा रहेको हतियार कारखाना हो । नेपाल, भुटान, म्यानमार, युगान्डालगायत मुलुकले भारतबाट यो हतियार खरिद गरेका हुन् । इन्सास राइफलको गुणस्तरमा बारम्बार प्रश्न उठेपछि निर्माता भारत स्वयंले अन्य हतियारबाट यसलाई विस्थापित गर्न थालेको छ । नेपाली सेनाले पनि भारतसँग इन्सास राइफल नकिनेर अमेरिका र इन्डोनेसियासँग एम–१६ सहितका हतियार खरिद प्रक्रिया अगाडि बढाएको छ ।

    अमेरिकाबाट १० हजार थान एम–१६ राइफल खरिदका लागि सेनाले ८० लाख अमेरिकी डलर भुक्तानी दिइसकेको छ । यद्यपि, सेनाको ठूलो संख्याले विगतमा खरिद भएको इन्सास राइफल प्रयोग गर्दै आएको छ । नेपाली सेनाले भारतबाट ६० प्रतिशत अनुदानमा इन्सास खरिद गरेको थियो । केही वर्षयता भने सेनाले भारतबाट यो हतियार किनेको छैन । भारतीय सेनाले पनि इन्सासको गुणस्तर नभएको बताउँदै अन्य हतियारबाट इन्सास विस्थापित गरिरहेको छ ।

    नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले मन्त्रिपरिषद्को १५ असारको निर्णयअनुसार सशस्त्र प्रहरीलाई इन्सास राइफल र गोलीगठ्ठालगायत सामग्री हस्तान्तरण गरिएको जानकारी दिए । ‘अब सशस्त्र प्रहरीका प्रतिनिधिलाई तालिम पनि दिन्छौँ,’ उनले भने, ‘त्यसपछि उहाँहरूले यसको प्रयोग र मर्मत गर्न सक्नुहुन्छ ।’ सुरक्षाको साझा दायित्वअन्तर्गत हतियार दिइएको सेनाको भनाइ छ । सेनाले विगतमा पनि सशस्त्र प्रहरीलाई एसएलआर (सेल्फ लोडिङ राइफल) दिएको थियो ।आजको नयाँ पत्रिका दैनिकमा समाचार छ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार