अहिले भारत र चीनबीच सिमा बिबाद चर्कंदो अबस्थामा छ भने लद्दाखमा झडप समेत भएको छ । चिनियाँ र भारतीयबीच पटकपटक सिमा क्षेत्रमा विवाद हुँदै आएको छ । यतिबेला नेपाललाई दबाउन खोज्ने भारत भने चीनको सामु सधैं लाचार बन्दै आइरहेको छ । कोरोनाले विश्व नै आक्रान्त भएका बेला नेपालका दुई विशाल र शक्तिशाली छिमेकी चीन र भारतबीच सीमा क्षेत्रमा निरन्तर विवाद चलिरहेको छ । यी दुवै राष्ट आणविक शक्तिमा सम्पन्न छन् । भारत र चीनको सीमामा भएको झडपमा भारतीय सेनाका कमान्डिङ अफिसर समेत २० जना भारतीय सैनिकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लद्दाखको १४ हजार फिट उचाइँमा रहेको गालवन भ्यालीमा यो झडप भएको हो । यो क्षेत्रमा पछिल्लो ४१ दिनदेखि तनाव रहेको छ । तनावलाई कम गर्नका लागि छलफल भइरहँदा १५ जुन साँझदेखि थप तनाव सिर्जना भएको थियो । यी दुई छिमेकी बीच जति द्वन्द भएपनि युद्ध हुने सम्भावना भने न्यून नै देखिन्छ । त्यसो त अहिले विश्वमा बहसको बिषय पनि बनेको छ अबको युद्ध कस्तो हुन्छ ? ७५ बर्ष अघि अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम प्रहार गरेको घटनाले अहिले पनि संसार त्रशित हुने गर्दछ ।
अबको परमाणु बम त्यो भन्दा कयौ गुणा शक्तिशाली होला त्यो कल्पना नै गर्न सकिदैन । चीन-भारतबीच पटक–पटक तनाव उत्पन्न भएको भएपनि ४५ बर्षयता सीमा क्षेत्रमा गोली चलेको छैन,तर दुवै पक्षका सैनिक मुक्कामुक्की र ढुंगा हानाहान भने गरिरहन्छन् । दुवै देश अहिले पनि एक–अर्काविरुद्ध आक्रमण गर्ने वा लडाइँ लड्ने मुडमा नभएपनि सीमा क्षेत्रमा आफ्नो सामरिक शक्ति र अन्य पूर्वाधार भने निरन्तर बढाइरहेका छन् । यसको उद्देश्य भने एकले अर्कालाई तर्साउने मात्र देखिन्छ । सीमा विवादलाई लिएर सन् १९६२ मा भारत र चीनले अन्तिम युद्ध लडेको थियो । उक्त युद्धमा भारतले लज्जास्पद हार व्यहोरेको थियो भने त्यसपछि चीनविरुद्ध भारतको भित्री आत्मबल अधिक कमजोर छ । बाहिर जति चर्को कुरा गरे पनि चीनसँग लडेर जित्न सकिँदैन भन्नेमा भारतीय स्पष्ट छन् । अर्कोतर्फ चीन र भारतबीच एक वर्षमा करिब ८० अर्ब डलरको वैदेशिक व्यापार हुन्छ । भारतको सबैभन्दा ठूलो व्यापारिक साझेदार भनेको नै चीन हो । अहिले पनि भारतको तुलनामा चीनको सामरिक शक्ति निकै ठूलो छ । आर्थिक रुपमा भारतभन्दा चीन धेरै सबल छ । भारतले चीनसित नेपाल वा पाकिस्तानसंग जस्तो उत्तेजना देखाउन सक्दैन भने सीमा विवादमा भारत प्राय रक्षात्मक हुन्छ । यसअघि सन् २०१७ भुटानको सीमा क्षेत्र दोक्लाममा चीनले सडक निर्माण गर्दा भुटानको अभिभावक बनेर चीनसँग जोरी खोज्न जाँदा भारतले धक्का खानुपर्यो । अन्ततः भारत आफ्नो अडानबाट पछि हट्यो । आणविक हतियारका यी दुई सपुर पावरहरु बीच युद्ध भयो भने आणविक हतियार प्रयोग नहोला भन्न सकिन्न ।
तर यदि युद्धमा आणविक हतियार प्रयोग भयो भने के होला ? हतियार र सशस्त्र बलको आँकडा हेर्दा चीन तेस्रो र भारत चौथो स्थानमा रहेका छन् । पाकिस्तान र नेपालको सामरिक शक्तिसँग खिल्ली उडाउने भारतीय मिडिया भने चीनको सामु निरिह्य हुन्छ भने उसले भारतलाई चीनसँग तुलना गर्न सक्दैन । चीन सौहार्दतापूर्वक संवादको माध्यमबाट सिमा समस्या समाधान गर्ने पक्षमा छ । तर, आफ्नो एक इन्च पनि भूमि छोड्न तयार छैन । भारतले नियतवस झडपको अवस्था सिर्जना गरिरहेको र अहिलेको सीमा रेखालाई एकपक्षिय रुपमा तल वितल पार्न खोजेको बताउछ । तर सैन्य र कुटनीतिक सम्वन्ध उतारचढावपूर्ण भए पनि भारत र चीनबीचको व्यापारिक सम्वन्ध निकै बलियो र अविच्छिन्न छ । अहिलेको झगडाको केन्द्रविन्दू भने हिमाली क्षेत्र लद्दाख हो, जुन पहिल्यैदेखि दुई देशबीचको विवादित छ । यसबीचमा दुवै देशले आ–आफ्ना क्षेत्रमा हजारौंको संख्यामा सैन्य बल थपेका छन् । दुवै पक्ष उच्च सतर्कतामा छन् । भारत र चीनको ३ हजार ४ सय ८८ किलोमिटर लामो बोर्डर छ । दुई देशलाई लाइन अफ एक्चुअल कन्ट्रोल (एलओसी) ले छुट्याउँछ र यो तीन क्षेत्रमा बाँडिएको छ ।
पूर्वी क्षेत्रमा अरुणाञ्चल प्रदेश र सिक्किम, मध्य क्षेत्रमा उत्तराखण्ड र हिमाञ्चल प्रदेश तथा पश्चिमी क्षेत्रमा लद्दाख रहेको छ। भारत र चीनबीच एलओसीका विभिन्न खण्डहरुमा दुवैले दावी गर्दै आएका छन् । भारतले आफ्नो दावी गरेको थुप्रै ठाउँमा चीनको नियन्त्रण छ । चीनले आफ्नो ३८ हजार बर्ग किलोमिटर भूभाग अतिक्रमण गरेको आरोप भारतको छ । दुई ठूला मुलुकहरु आपसमा भिड्दा बीचमा पर्ने सानो मुलुकको भने अहिले महत्व बढेको छ । यदि भोलि भारत र चीनबीचको विवाद चर्कँदै गएर गम्भीर रुप लिएमा वा युद्धकै अवस्था आएमा अन्तर्राष्ट्रिय समुदायको पक्षधरता खुल्न सक्छ । त्यसबेला दुवै देशले अन्तर्राष्ट्रिय समर्थन र साथ खोज्नेछन् । भुटानलाई छोडेर सार्क देशहरुमा भारतको प्रभाव खस्किँदो छ भने चीनको प्रभाब बढ्दो छ । दुई ठूला मुलुकहरु आपसमा भिड्दा बीचमा पर्ने सानो नेपाललाई अनुकुलता अहिले छ । संयोगले यति बेला नै नेपालले पनि भारतद्वारा अतिक्रमित आफ्नो भूमि फिर्ताको एजेन्डालाई चर्काएको छ भने नेपालको सरकारले अतिक्रमित भूमि समावेश गर्दै देशकै नक्शा संशोधन गरेको छ । नेपालले संसदबाट नक्शा पारित गरेपछी भारत थप तनाबमा परेको छ ।
आणविक हतियार र सैन्य शक्ति हेर्ने हो भने चीनसंग आणविक हतियार २८५ रहेको छ भने भारतसंग आणविक हतियार १४० छ । तर यो हतियार दुवै देशले पहिला प्रयोग नगर्ने नीति लिएका छन् । चीनको पावर इन्डेक्स ०.०६७३ रहेको छ भने भारतको ०.१०६५ छ । अनुमानित जनसंख्या चीनको १४१४६८८९८६ छ र भारतको जनसंख्या १३४६८३४०४२ छ । चीनसँग अनुमानित ( रिजर्ब सहित ) सेना २६ लाख छ भने भारतसंग सेना ( रिजर्ब सहित ) २५ लाख छ । चीनसँग जम्मा एयरक्राफ्ट ३१६७ रहेको छ भने भारतसंग जम्मा एयरक्राफ्ट २०८२ छन् । त्यस्तै फाइटर बिमान चीनसँग १२२२ र भारतसंग फाइटर बिमान ५२० छन् । कम्बाट टेंक चीनसँग १३०५० छ भने भारतसंग कम्बाट टेंक ४१८४ रहेको छ । रक्षा बजेट चीनको $ १७९ बिलियन छ भने भारतको रक्षा बजेट ६६.९ बिलियन रहेको छ ।