मंगलबार, भाद्र २ गते २०८३
images

बंगलादेशविरुद्ध नेपालको सम्भावित-११


  • 1.4K
    SHARES
  • भाद्र २७, २०७८ आइतबार

    काठमाडौं, २७ भदौ

    आगामी एएफसी महिला एसिया कप २०२२ छनोट खेलको तयारीस्वरूप नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल आज (आइतबार) हुँदैछ ।

    त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा दुवै टोली आफ्नो पक्षमा नतिजा बनाउन प्रतिस्पर्धा गर्दैछन् । 

    नेपाली महिला टोली बंगलादेशविरुद्ध लगातार दोस्रो जित निकाल्ने दाउमा हुनेछ । यता, बंगलादेश नेपालविरुद्ध पहिलो जितको खोजीमा हुनेछ । बंगलादेशले नेपालविरुद्ध हालसम्म विजय हासिल गर्न सकेको छैन । 

    त्यसका बाबजुद बंगलादेशले बिहीबार भएको पहिलो मैत्रीपूर्णमा सुधारिएको खेल प्रदर्शन गर्याे । खेलमा सुरुवातबाटै दबाब बनाएको बंगलादेशले नेपाललाई २-१ गोल अन्तरको नतिजा सुम्पियो । 

    मुख्य खेलाडी सावित्रा भण्डारी साम्बा र केही अनुभवी खेलाडीलाई बेन्चमा राखेर मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले बंगलादेशविरुद्ध नयाँ अनुहारलाई स्थान दिएका थिए । जहाँ खेलाडीले आ-आफ्नो क्षेत्रमा औसत प्रदर्शन गरे । 

    करिब एक वर्षपछि अन्तर्राष्ट्रिय मैदानमा उत्रिएको नेपाली टोलीले बल पोसेसनमा खासै प्रभाव जमाउन सकेन । यद्यपि दुई गोल भने गर्याे । 

    दक्षिण एसियाली महिला फुटबलकी उत्कृष्ट स्ट्राइकर सावित्रा भण्डारीबिनै युवा खेलाडीले नेपाललाई नतिजा दिए । तर सावित्रा हुँदा जस्तो अग्रपंक्तिमा नेपालको खेल हेर्न पाइएन । 

    आइतबारसमेत दोस्रो मैत्रीपूर्णमा प्रशिक्षक ग्यारीले पहिलो खेलकै प्लेइङ सेट उतार्न सक्छन् । प्रशिक्षक ग्यारी धेरैभन्दा धेरै सोहि सेटलाई अभ्यस्त बनाउन चाहन्छन् । एएफसी महिला छनोट खेल नजिकिँदै गर्दा ग्यारीले हालसम्म आफ्नो प्लेइङ सेट पाउन सकेका छैनन् । 

    प्रशिक्षक ग्यारीले मुख्य स्ट्राइकर सावित्राको अनुपस्थितिमा नेपालको अग्रपंक्ति समाल्ने मुख्य हतियार अझै पाउन सकेका छैनन् । पहिलो खेलमा अग्रपंक्तिको जिम्मेवारी पाएकी प्रीतिले केही राहत भने दिएकी छिन् । प्रीतिलाई राइट विंगर विमला चौधरी र लेफ्ट विंगर सविता राना मगरले साथ दिएका थिए । 

    सविताले राएट विंगर विमलाको पासमा हेडिङ गोल गर्दै नेपाललाई अग्रता दिएकी थिइन् । दोस्रो मैत्रीपूर्ण खेलमा समेत तिनै खेलाडीले भूमिका निर्वाह गर्नेछन् । 
    यस्तै नेपालको मिड लाइनमा सरु लिम्बू, दिपा राई, अन्जलीकुमारी योञ्जन र रेणुका नगरकोटे नै रहने सम्भावना छ ।  

    सरु र दिपा अट्याकिङ मिडमा रहँदा मन्जली र रेणुका होल्डिङ मिडफिल्डरको रूपमा रहन सक्छन् । 

    यस्तै डिफेन्समा समेत पूजा राना, गीता राना, अमृता जैशी र हीराकुमारी भुजेलले नै निरन्तरता पाउन सक्ने सम्भावना छ । 

    नेपालको फुल ब्याक (सेन्टर ब्याक) मा गीता राना र अमृता जैशी रहन सक्छन् । राइट ब्याकमा पूजाले खेल्नेछिन् । विराटनगरमा भएको साफमा डेब्यु गरेयता उनले राष्ट्रिय टोलीबाट पहिलो पटक पूरा समय खेलेकी थिइन् । 

    पहिलो खेलमा केही समस्यामा देखिएकी लेफ्ट ब्याक हीरा भुजेलले दोस्रो खेलमा समेत प्लेइङ सेटमै खेल्ने सम्भावना छ । खेलअघिको पहिलो मैत्रीपूर्णमा हीरा सामेल भएकी छन् । 

    पहिलो खेलमा चार खेलाडीलाई डेब्यु गराएका प्रशिक्षक ग्यारीले दोस्रो मैत्रीपूर्णमा नयाँ तीन खेलाडीलाई डेब्यु दिन सक्छन् । नेपालले गोल संख्या बढाएको अवस्थामा बाँकी तीनै खेलाडीले दोस्रो हाफमा डेब्यु गर्न सक्छन् । 

    प्रशिक्षक ग्यारीले दोस्रो मैत्रीपूर्णमा आफ्नो रणनीति ४-३-३ को बनाउने छन् । यो रणनीति आफ्नो पक्षमा बल हुँदा हुनेछ । यस्तै प्रशिक्षक ग्यारी विपक्षीसँग बल रहँदा ४-५-१ को रणनीतिमा हुनेछन् । 


    बंगलादेशविरुद्ध नेपालको सम्भावित-११ 
    गोलरक्षक : एन्जिला तुम्बाप्पो सुब्बा,
    डिफेन्डर : हीराकुमारी भुजेल, अमृता जैशी, गीता राना, पूजा राना
    मिडफिल्डर : मन्जलीकुमारी योञ्जन, सरु लिम्बू, रेणुका नगरकोटे
    स्ट्राइकर : सविता राना मगर, विमला चौधरी, प्रीति राई

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार