पौष २३, काठमाडौं- सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको कार्यदलले शीर्ष नेताहरू समक्ष पेस गर्नुभएको छ । आज बालुवाटारमा उच्चस्तरीय संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाउनु भएको हो ।
बालुवाटारमा सत्ता साझेदार दलहरूको बैठकमा जनमत पार्टीका अध्यक्ष सीके राउत तथा नागरिक उन्मुक्ति पार्टीकी नेता रन्जिता श्रेष्ठ लगायत सबै नेताहरू उपस्थित रहनु भएको थियो ।
सत्ता साझेदार दलहरूले गठन गरेको कार्यदलले शुक्रबार नै उक्त मस्यौदा तयार पारेको थियो । न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्नका लागि समितिमा उपप्रधान तथा अर्थ मन्त्री पौडेल, माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा. मुकुल ढकाल, राप्रपाका महामन्त्री धवलशम्शेर राणा, जसपाका नेता रकम चेम्जोङ सदस्य रहनु भएको थियो ।