मंगलबार, भाद्र २ गते २०८३
images

जिरी भ्रमणमा आउने पर्यटकलाई ५० प्रतिशत छुट

  • 4.3K
    SHARES
  • माघ १६, २०७५ बुधबार

    दोलखा । दोलखाको पर्यटकीय नगरी जिरी भ्रमणमा आउने पर्यटकलाई होटलका कोठा भाडामा ५० प्रतिशत छुट दिइने भएको छ । आजदेखि लागू हुने गरी होटल व्यवसायीले जिरी भ्रमणमा आउने पाहुनाका लागि यस्तो घोषणा गरेका हुन् । 

    पर्यटकलाई जिरीमा आकर्षित गर्ने उद्देश्यले होटल व्यवसायीले जुनसुकै स्तरको होटलमा पनि चलनचल्तीको मूल्यमा कोठा भाडामा छुट अफर गरेको जिरी उद्योग वाणिज्य सङ्घका अध्यक्ष गेल्बु शेर्पाले जानकारी दिएका छन । सगरमाथाको प्रवेशद्वारको रुपमा लिइने जिरी सडक विस्तार भएसँगै पुरानो व्यापार घटेर होटल व्यवसाय पनि सुस्ताउन थालेपछि व्यवसायी आफैँ सक्रिय भएका हुन् । 

    जिरीमा पर्यटन प्रवद्र्धनका लागि स्थानीय व्यवसायीको पहललाई स्थानीय सरकारले पनि साथ दिएको छ । जिरी नगरपालिकाले क्लिन जिरी, ग्रिन जिरी, अर्गानिक जिरी अभियान नै शुरु गरेको छ । नगरपालिकाले अहिले नगरको सरसफाइमा ध्यान दिएको नगर प्रमुख टङ्क जिरेलले जानकारी दिएका छन । नगरपालिकाकै अगुवाइमा पर्यटन प्रवद्र्धन गर्न पूर्वाधार निर्माणका कामसमेत अघि बढाएको उनले बताए । 

    जिरीमा पछिल्लो समय नयाँ होटल व्यवसायी पनि थपिँदै गएका छन् । आधुनिक सेवासहित युवाले एक दर्जन होटल भूकम्पपछि थपिएका छन् । पर्यटकको सेवाको पहिलो आधार होटल भएकाले होटल व्यवसायी सङ्गठित हुन थालेका छन् । जिरीका होटल व्यवसायी भेला भएर केही दिनअघि वसन्त प्रधानको अध्यक्षतामा होटल सङ्घ जिरीसमेत गठन गरेका छन् । 

    “सगरमाथाको प्रवेशद्वार भनेर विदेशीलाई मात्र पर्यटक मानिन्थ्यो”, अध्यक्ष प्रधानले भने, “सडक खुलेपछि पर्यटक जिरीभन्दा पनि सोझै सल्लेरी र बाम्ती पुगेपछि जिरीका होटल र अन्य व्यवसायसमेत सुस्ताएपछि विकल्पको खोजीमा स्वदेशी पर्यटक लक्षित योजना अघि सारेका हौँ ।” जिरीमा पर्यटकको बसाइँ लम्ब्याउन स्थानीय गाइडको समेत व्यवस्था गर्न लागेको उनले जानकारी दिएका छन । 

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार