दोलखाको कालिन्चोकबाट भक्तपुर आउँदै गरेको बस सिन्धुपाल्चोकमा दुर्घटना हुँदा १५ जनाको मृत्यु र १७ जना घाइते हुने गरी भएको दुर्घटनाका चालक अहिलेसम्म फरार छन् । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिका–७ , स्थित ६ किलोमा आईतबार विहान बा ४ ख ४४६८ नम्बरको बस दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकले चालक सुमन तामाङको खोजी भइरहेको जनाएको छ । तामाङ गाडी भिरबाट तल झर्न थालेपछि झ्यालबाट भागेका थिए । त्यसपछि उनी कहाँ गए, अहिलेसम्म खुलेको छैन । चालक तामाङ श्रीमती र छोरालाई छेऊमा राखेर गाडी चलाइरहेका थिए ।कालिन्चोक मन्दिर दर्शनका लागि रिजर्भ गरेर लगिएको उक्त बस भक्तपुर फर्किंदै गर्दा आइतबार बिहान ८ः१५ बजे दुर्घटना भएको थियो । सडकबाट अन्दाजी ५०० मिटर तल खसेको बसमा कति यात्रु सवार थिए भन्ने छैन ।
मृत्यु हुनेहरुमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ का सुक बहादुर तामाङ, सिन्धुपाल्चोक जुगल गाउँपालिका–७ की सबिना तामाङ,दोलखाको भीमेश्वर नगरपालिकाकी जुनुमाया तामाङ,दोलखाको भीमेश्वर नगरपालिकाकी मञ्जु तामाङ,रामेछापको उमाकुण्ड गाउँपालिका–५ का महेश तामाङ,भक्तपुरको सुर्यविनायक नगरपालिकाका चिुन बस्नेत रहेका छन् भने बाँकीको सनाखत हुन् बाँकी रहेको छ
यस्तै दुर्घटनामा घाइते हुनेहरुमा आयुषा तामाङ,धनकाजी तामाङ,रञ्जीता तामाङ,हरिमाया तामाङ,दोर्जे तामाङ,सागर तामाङ,दिपक तामाङ,नैना तामाङ,सहचालक गिपलव तामाङ,भक्तपुरका सागर केसी,नाम नखुलेको ५ महिनाकी एक बालिका रहेका छन् ।
सिन्धुपाल्चोकमा एक महिनाको बीचमा भएको यो अर्को दुर्घटना हो । गत कात्तिकमा सुकुटेमा बस दुर्घटना हुँदा १७ जनाको ज्यान गएको थियो । त्यसअघि असोज २४ मा पनि बा २ ख २७१५ नम्बरको बस इन्द्रवाती गाउँपालिका १०, बडहरे झिल्के मोडमा दुर्घटना भएको थियो । जसमा दर्जन बढीको ज्यान गएको थियो ।