सोमबार, भाद्र १ गते २०८३
images

नेकपा-राजपा सहमतिको तरंग : संघीय र प्रदेश २ सरकारको समीकरण बदलिने संकेत

  • 4.8K
    SHARES
  • पौष ४, २०७६ शुक्रबार

    सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा र प्रतिपक्षी राष्ट्रिय जनता पार्टी राजपा नेपालबीच दुई बुँदे सहमति भएसँगै संघीय सरकार र प्रदेश २ सरकारको समीकरण बदलिने सम्भावना बढेको छ । राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्ने, नेकपा र राजपा नेपालबीच राष्ट्रिय राजनीतिका समसामयिक विषयमा नियमित छलफल गर्ने तथा सहकार्यको प्रक्रियालाई अघि बढाउने दुई पार्टीबीचको सहमतिसँगै संघीय सरकार र प्रदेश सरकारमा फेरबदलको संकेत देखिएको हो । यससँगै नेपाली राजनीतिले नयाँ मोड लिन सक्ने सम्भावनासमेत देखिएको छ ।

    नेकपा र राजपाबीच बुधबार प्रधानमन्त्री निवास बालुवाटार भएको दुई बुँदे सहमति सार्वजनिक भए पनि सोही अवसरमै संघीय सरकारमा राजपा सहभागी हुने र प्रदेश २ मा नेकपा र राजपाको सहकार्यमा नयाँ सरकार गठन गर्ने बारेमा समेत अनौपचारिक सहमति जुटेको स्रोतले जानकारी दिएको छ ।बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीको सहभागितामा भएको छलफलमा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले प्रदेश २ मा नयाँ सरकार गठनको प्रस्ताव गरेका हुन् । छलफलमा अध्यक्ष दाहालले प्रदेश २ मा नेकपा र राजपाको सरकार गठन गर्ने प्रस्ताव गरेपछि राजपा नेपालका संयोजक राजेन्द्र महतोले मुसुक्क हाँस्दै सहमति जनाएका थिए ।

    अध्यक्ष दाहालले मुख्यमन्त्रीसहित प्रदेश २ सरकारको नेतृत्व राजपाले गर्ने र नेकपाले त्यसमा सहयोग गर्दै सहभागी हुने प्रस्ताव गरेको नेकपा स्रोतले जनाएको छ । ‘अब राष्ट्रिय सभा निर्वाचन वा संघीय सरकार मात्र नभई प्रदेश २ मा पनि मिलेर हामी सरकार गठन गरौं,’ नेकपा स्रोतले दाहालको भनाइ उद्धृत गर्दै भन्यो, ‘राष्ट्रिय आवश्यकता र समृद्धिका लागि हामी मिलेर जानुको विकल्प छैन ।’ अध्यक्ष दाहालले यस्तो प्रस्ताव गरेपछि छलफलमा सहभागी राजपा अध्यक्ष मण्डलका संयोजक महतोले मुसुक्क हाँस्दै छलफललाई निरन्तरता दिनुपर्ने भन्दै सहमति जनाएको राजपा स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार