सोमबार, भाद्र १ गते २०८३
images

प्रधानमन्त्रीले राष्ट्रिय पोशाक नलाए पेटिकोट लगाइदिन्छौं : समाजवादी कङ्ग्रेस

  • 5.1K
    SHARES
  • पौष ८, २०७६ मंगलबार

    नेपाल समाजवादी कङ्ग्रेसले प्रधानमन्त्री, मन्त्री, राष्ट्रसेवक कर्मचारीका साथै अन्य सरोकारवालाले राष्ट्रिय पोशाक नलाए ती लुगा खोलेर पेटिकोट लगाइदिने चेतावनी दिएको छ । पार्टीले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गोबिन्द निरौलाले पुरुषको लागि दौरा, सुरुवाल, कोट र टोपी तथा महिलाका लागि गुन्यू चोली राष्ट्रिय पोशाक भएकाले राष्ट्रको मर्यादा राख्न अनिवार्य रुपमा ती पोशाक लगाउनुपर्ने बताए ।

    ‘हामी १० दिन पर्खन्छौं अनि पनि यो कुरा सुनुवाई भएन भने पुरुषलाई पेटिकोट लगाइदिन्छौं’ अध्यक्ष निरौलाले भने ‘हाम्रो रीतिरिवाज र संस्कृतिमाथि सधैं प्रहार भइरहेको छ त्यसैले पनि सरकारलाई गम्भीर ध्यानाकर्षण गराएका हौं ।’ पार्टीले आफ्नो उद्येश्य र अवधारणपत्र पनि सार्वजनिक गरेको छ । पार्टीले प्रधानमन्त्री, मन्त्री, न्यायाधीश, वकिल, संसद, सरकारी विद्यालयका शिक्षक, संस्थानका कर्मचारीलगायतले राष्ट्रिय पोशाक लगाउनुपर्ने भनेको छ ।

    पार्टीले वर्तमान सरकारले जनताको हक अधिकारमाथि प्रहार गरेकोले जतिसक्दो चाँडो सरकारको वहिर्गमन हुनुपर्ने तर्क गरेको छ । ‘सरकार भ्रष्ट छ, अनियमितता बढिरेहेको छ, सरकार निरंकुश ढंगले अघि बढेको छ, यो बाटो गलत छ’ अध्यक्ष निरौलाले भने ‘ अहिलेको लक्षण हेर्दा आगामी दिन झन् डरलाग्दो छ, त्यसैले पनि देश जोगाउन सबै एकजुट हुनु आवश्यक छ ।’ पार्टीका उपाध्यक्ष महेशमान सिंह डंगोलले राष्ट्रियता खतरामा परेको बताए । ‘राष्ट्र बचाउन सबै एकजुट हुनु परेको छ, यसको नेतृत्व हाम्रो पार्टीले गर्छ’ उनले भने ‘सीमा अतिक्रमण हुँदा पनि सरकार बोलेको छैन, योभन्दा लाजमर्दो विषय अरु हुन सक्दैन, सरकारले तत्काल वार्ता गरेर आफ्नो भूमी फिर्ता लिनुपर्छ ।’

    पार्टीले संघीयताले देश संकटमा पु¥याएको निश्कर्ष समेत निकालेको छ । पार्टीले सीमा समस्या समाधानका लागि गृह सचिवलाई सम्बोधन गर्दै केही दिनअघि स्मरणपत्र पनि बुझाएको सचिव मानबहादुर गुरुङले बताए । ‘सरकार सबै कुरामा असफल भइसकेको छ, २ वर्षसम्म सरकारले गरेका राम्रा काम केही पनि देखिएनन्’ सचिव गुरुङले भने ‘अरु पार्टीहरु कुनै न कुनै देशको इशारामा चलेका छन्, उनीहरु अरुको हितको लागि काम गर्छन्, हामी नेपाल र नेपाली जनताको पक्षमा सधैं अभियान चलाउँछौं ।’

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार