भारतले अतिक्रमित भूभाग समेटेको नक्सालाई आधिकारिकता दिन नेपालले संविधान संशोधन गरेको विषयमा आफू जानकार भएको जनाएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले शनिबार पत्रकारको प्रश्नको जवाफ दिँदै नेपालको प्रतिनिधिसभाले ‘भारतका केही भूभागलाई आफ्नो नक्सामा समावेश गर्न संविधान संशोधन विधेयक पारित गरेको’ बताएका हुन्।
उनले नेपालले नयाँ नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समावेश गरेको विषयलाई कृत्रिम विस्तार भन्दै यसमा कुनै तथ्य र प्रमाण नभएको दाबी गरे। यस विषयमा भारतले पहिले नै आफ्नो धारणा प्रस्ट पारिसकेको भन्दै उनले नेपालको निर्णयको कुनै अर्थ नभएको बताए। सीमा मुद्दामा छलफल गर्ने दुईपक्षीय समझदारीलाई नेपालले उल्लंघन गरेको आरोप पनि उनले लगाए।
नेपालमा संविधान संशोधन विधेयक पारित हुनुपूर्व शनिबारै भारतीय सेना प्रमुख मनोजमुकुन्द नरवानेले नेपाल–भारत सम्बन्ध मजबुत भएको बताएका छन्। उनले नेपालसँग भारतको भौगोलिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक सम्बन्ध भएको बताए। जनताका तहमा पनि दुई मुलुकबीचको सम्बन्ध बलियो रहेको बताउँदै उनले आगामी दिनमा पनि यो सम्बन्ध बलियो रहिरहने विश्वास व्यक्त गरे। यसअघि नेपालमा भारतबाट अतिक्रमित भूमिबारे विरोध बढेपछि त्यसमा चिनियाँ हात रहेको अभिव्यक्ति दिएर उनी विवादमा आएका थिए।
यसैबीच भारतीय समाचारपत्र हिन्दुस्तान टाइम्सले भारतले वार्ताका लागि गरेको प्रस्ताव नेपालले अस्वीकार गरेको समाचार प्रकाशित गरेको छ। परराष्ट्र मन्त्रालयको उच्च स्रोतलाई उद्धृत गर्दै पत्रिकाले भारतले विदेश सचिवस्तरीय टेलिफोन संवाद वा भिडियो कन्फरेन्सको प्रस्ताव गरेको र सीमा विवादमा छलफलका लागि नेपालका विदेश सचिवलाई भारत भ्रमणका लागि आग्रह गरिएको जनाएको छ।आजको नागरिक दैनिकमा समाचार छ।