पौष १९, काठमाडौं- पुँजी कर्जा सम्बन्धमा हिजो ब्यवसायीसँग छलफल गरेको राष्ट्र बैंकले आज बैंकर्सहरूसँग पनि छलफल गरेको छ। छलफलमा व्यवसायीहरूले जस्तै बैंकरहरूले पनि राष्ट्र बैंकलाई तत्काललाई पुँजी कर्जा मापदण्ड लागु नगर्न सुझाव दिएका छन्। व्यवसायी समस्या पर्नु नै बैंकहरु पनि समस्यामा पर्नु हो भन्दै मापदण्ड तत्काललाई अहिलेकै स्वरुपमा कार्यान्वयन नगर्न सुझाव दिएका सहभागी बैंकरले बताए। सम्भवतः राष्ट्र बैंकले केही समयमै यसमा नयाँ व्यवस्था ल्याउनेछ।
व्यवसायीका लागी यो कर्जाको आवश्यकता अलग–अलग हुने हुनाले सोही अनुसार समाधान खोज्नु पर्ने धारणा राखेको एक सहभागीले जनाए। व्यवसायीहरूले भने हाल कायम भएका ऋणीहरुलाई तत्काल चालु पुँजी कर्जा मापदण्ड नलगाउन सुझाव दिएका थिए। साथै कायम ऋणीहरूलाई यो व्यवस्था कम्तिमा दुई वर्ष नलाग्ने व्यवस्था गर्न व्यवसायीहरूले राष्ट्र बैंकलाई छलफलमा अनुरोध गरेका हुन्। यसमा राष्ट्र बैंक पनि सकारात्मक देखिएको व्यवसायीहरूले बताउछन्। यही कारण नै राष्ट्र बैंकले व्यवसायीसँगको छलफलपछि बैंकरहरूसँग छलफल गरेको बुझिएको छ।
राष्ट्र बैंकले कात्तिकबाट कार्यान्वयनमा ल्याएको चालु पुँजी कर्जा सम्बन्धी मापदण्डले व्यवसायीहरूले कारोबारको अधिकतम ४० प्रतिशतसम्म मात्र कर्जा पाउने र हरेक त्रैमासको अन्तिम महिनामा व्यवसायीहरूले लिएको यस्तो कर्जाको सीमा नथक्ने र पुराना ऋणीलाई नयाँ कर्जा जारी गर्न नपाइने व्यवस्था रहेको छ।