माघ ६, चितवन — चितवन राष्ट्रिय निकुन्जको नारायणी नदि किनारमा दुईवटा गैंडा मरेको भेटिएको छ । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका वडा नम्बर २ नारायणी नदीको पश्चिम किनारमा मरेको अवस्थामा भेटिएको जिल्ला प्रहरीले जनाएको छ ।
मरेका मध्ये पोथी गैंडाको खाग चोरी भएको छ भने सानो गैंडाको खाग यथा अवस्थामै रहेको छ । चितवन निकुन्जले यथार्थ घटनाकाबारेमा अनुसन्धान सुरु गरेको जनाएको छ । एउटा गैंडाको खागसमेत चोरी भएकाले सिकारी समूहले गैंडा मारेको हुनसक्ने प्रहरीको आशँका छ ।
राष्ट्रिय निकुन्ज आसपासमा क्षेत्रमा यसअघि पनि बहुमुल्य खाग तस्करीका लागि सिकारीहरुको समूहले गैंडा मारी खाग चोरी गर्ने गरेका थिए । निकुन्जका अनुसार पोथी गैंडा अन्दाजी १४ वर्षको र केटो करीव ४ वर्षको रहेको अनुमान छ । नेपालभर ७ सय ५२ गैंडा रहेकोमा चितवन निकुन्जमा मात्रै हाल ६ सय ९४ गैंडा छन् ।