मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता स्विकार्न हुने–नहुने बहस चलिरहँदा एमसीसीमा अमेरिकी अडान भन्ने खबर देशको साख राख्ने समाचार होइन । एमसीसी सम्झौता विषयमा अनेक बुद्घिजीवीबाट धेरै बुद्घिविलास भइसके भने नेताहरूले त धेरै खुराफात गरिसके राजनीति खपतका लागि । यसैले एमसीसी मुद्दा झनै कचल्टिन पुगेको छ अहिले ।मोटामोटी पढेर, अध्ययनविनाको ज्ञानका आधारमा बोल्ने र लेख्ने नेता र विश्लेषकहरू बग्रेल्ती निस्किएका छन् भने प्रायोजित लेखक र अभिमत निर्माताहरूको कमी पनि देखिँदैन बजारमा ।
तथापि स्थापित विश्लेषक तथा स्थापित नेताहरूका चासो र उनीहरूका तार्किक भनाइलाई कदापि अवमूल्यन गर्न मिल्दैन र गरेमा घातक हुन सक्छ देशका लागि । विश्वविद्यालय पढ्दाका सहपाठी प्राध्यापकहरूले समेत आफूभन्दा माथिल्लो तहको बौद्घिक व्यक्तित्व भनेर स्विकारेको केही बागीजस्तो देखिने उपल्लो तहको स्थापित नेताको एमसीसी सम्झौताबारेको विश्लेषणात्मक अडानलाई त्यसै नकार्न सकिने अवस्था छैन र यस्ता नेता र विश्लेषकहरूका धारणालाई नकार्ने धृष्टता पनि गर्नु हुँदैन ।
७७ पृष्ठ लामो एमसीसी सम्झौताका अनेक धारा, उपधारा र यसका बुँदा–उपबुँदा तथा परिशिष्टका बुँदाहरूका भाषा यति जटिल र भाषागत हिसाबले यही अर्थ हो भनी यकिन गर्न राम्रै पढेलेखेका मान्छेलाई पनि सजिलो छैन भने साधारण मान्छेले पढेर, बुझेर अर्थ लगाउन सक्ने त कुरै भएन । यो दस्ताबेजलाई सही अथ्र्याउन र बुझाउन अलि छिप्पिएको ‘कर्पोरेट लयर’ नै चाहिन्छ । यसैले यो सम्झौताका विषयमा अनेक शंका–अपशंका उब्जिनु पनि स्वाभाविक नै हो ।आजको अन्नपुर्णपोष्ट दैनिकमा समाचार छ ।