प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उपसभापति विजयकुमार गच्छदारमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ओली सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको ठहर गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको केन्द्रीय समिति बैठकले आयोगले प्रस्तुत गरेको अभियोगपत्र आफैंमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको ठहर गरेको हो।
‘यो कार्य राजनीतिक पूर्वाग्रह र वदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ। यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रूपले प्रतिवाद गर्ने निर्णय गर्दछ,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, ‘नेता विजयकुमार गच्छदार कानूनी रुपमा सामना गर्दै निर्दोष सावित हुनुहुनेछ भन्ने नेपाली कांग्रेसको विश्वास छ।’
बैठकमा उपसभापति गच्छदारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई राजनीतिक प्रतिशोधका आधारमा ललिता निवास जग्गा प्रकरणमा मुद्दा दायार गरेको गुनासो गरेका छन्। एक घण्टाभन्दा बढी समय बैठकमा बोल्दै संसदीय दलका उपनेतासमेत रहेका गच्छदारले आफूलाई फसाइएको जिकिर गरे। तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीको सरकारी निवास विस्तारको गुरुयोजना ल्याउन दिएको निर्देशनअनुसारै मन्त्रिपरिषद् बैठकमा आफूले प्रस्ताव लगेको उनको जिकिर छ।आजको नागरिक दैनिकमा समाचार छ।