गरिबी निवारण कोषका उपाध्यक्ष निर्मल भट्टराईले देशमा विद्यमान गरिबी बोकेर समाजवादको गन्तव्य तय गर्न नसकिने बताएका छन् । सिन्धुली जिल्ला समन्वय समितिले गरिबी निवारण कार्यक्रमलाई प्रभावकारी बनाउने सन्दर्भमा आयोजित एक अन्तरक्रियामा उनले सो कुरा बताएका हुन् ।
उनले अघि भने-‘समाजवाद उन्मुख अर्थ व्यवस्थाको परिकल्पना गरेको नेपालको संविधानले गरिबी निवारणलाई संघीय, प्रादेशिक र स्थानीय सरकारको कार्य क्षेत्रमा पारिदिएकाले सबै सरकारको समन्वयमा गरिबी निवारणका आगामी कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्नु पर्छ’ ।
सिन्धुली जिल्ला समन्वय समितिका प्रमुख शंकरराज तिवारी बर्माले गरिबी निवारण कोषद्वारा प्रवर्धित सामुदायिक संस्थाहरुको घुम्ती कोषमा आफ्नो जिल्लामा रहेको करिब ४८ करोड रकमको आगामी दिनमा प्रभावकारी ढंगले परिचालन गरिने बताए ।
सो कार्यक्रमा जिल्ला समन्वय अधिकारी डिकबहादुर कार्की, जिल्ला समन्वय समिति सदस्यहरु गंगा कार्की, विन्दा परियार र एलान बम्जनले गरिबी निवारणका आगामी कार्यक्रमबारे सुझाव प्रस्तुत गरेका थिए । कोषका शाखा अधिकृत राममणी अधिकारीले कोषका पछिल्ला निर्णयहरुमाथि प्रकाश पारे ।