माघ २४, काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले राजस्व संकलनका क्षेत्रमा देखिएका चुनौतीहरु समाधान गर्न र राजस्व चुहावट नियन्त्रणका लागि काम गर्न राजस्व प्रशासनका अधिकारीहरूलाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार राजस्वको अवस्था र चुहावट नियन्त्रणसम्बन्धी छलफलमा वहाँले यस्तो निर्देशन दिनु भएको हो ।
हिजो राष्ट्र बैंकले गरेको छ महिनाको अर्थतन्त्रको समग्र बस्तु स्थिति हेर्दा अधिकांश सूचकहरू सकारात्मक हुँदै गएको देखिएको छ तर पनि राजस्व संकलनमा धेरै समस्याहरू भएकाले राजस्वको दायरा बढाउने र चुहावट नियन्त्रण गर्ने कार्यलाई एकैसाथ अगाडि बढाउन जरूरी देखिएको वहाँको भनाइ रहेको छ । ‘नीतिगत सुधारको प्रयत्नबाट यी कामहरू अगाडि बढाउन सकिन्छ । चुहावट नियन्त्रणका लागि राजस्व प्रशासनलाई सुदृढ र समन्वयात्मक बनाउनुपर्छ। यसमा हामीले विशेष जोड दिन आवश्यक छ।’ वहाँले भन्नुभयो ।
चुुहावट भन्सारमा मात्र नभएर राजस्व संकलनका बिबिध क्षेत्रमा छ । यसको प्रभावकारिता ब्यापकरुपमा बढाउदा परिस्थिति बदल्न सकिन्छ भन्ने वहाँको भनाइ थियो
छलफलमा प्रधानमन्त्री र अर्थमन्त्रीका साथै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार, नेपाल सरकारका मुख्यसचिव, राष्ट्र बैंकका गभर्नर, प्रधानमन्त्री कार्यालयका सचिव, अर्थसचिव, राजस्व सचिव, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धानका मुख्य अनुसन्धान निर्देशक, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक, आन्तरिक राजस्व विभागका महानिर्देशक, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक, राजस्व अनुसन्धान विभागका महानिर्देशक, भन्सार विभागका उपमहानिर्देशक लगायतका अधिकारीहरूको उपस्थिती रहेको थियो ।