फाल्गुन १६, काठमाण्डौं - संदिप लामिछानेलाई मुलुक बाहिर जान रोक लगाएको आदेशलाई सर्बोच्च अदालतले हिजो सोमबार फुकुवा गरेको छ। न्यायाधीश सपना प्रधान मल्ल र डा. कुमार चुडालको इजलासले उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी भएको उल्लेख गर्दै यस्तो आदेश सुनाएको हो। यो फुकुवा सङगै लामिछाने अन्तरास्ट्रियस्तरको क्रीकेट खेल्न पाउने भएका छन।
आदेशमा भनिएको छ, संदिप लामिछानेलाई विदेशमा सहभागी हुनुपर्ने क्रीकेटखेलमा विदेश जान दिनु, दिलाउनु, एवम निजको राहदानी रोक्का भए फुकुवा गरिदिनु भनी सम्बन्धित निकायमा लेखी पठाउनु। तर सर्वोच्चले उच्च अदालत पाटनको २०७९ पौष २८ गतेको २० लाख धरौटीमा छाड्ने आदेश भने सदर नै गरेको छ।
सर्बोच्चको उक्त इजलासले यो मुद्धा सार्वजनिक चासोको भएकोले शिघ्र सुनुवाइको प्रक्रिया अवलम्बन गरि छिटो किनारा लगाउन काठमाण्डौं जिल्ला अदालतलाई जानकारी दिन समेत आदेश दिएको छ। निवेदन बन्द सुनुवाइमा भएकाले आदेशको प्रतिलिपी सामाजिक संजालमा नराख्न पनि उक्त आदेशमा भनिएको छ।
क्रीकेटर लामिछानेले लिग टु अन्तर्गतको सिरिज खेल्न युएईमा जान पाउँ भनी सर्बोच्चमा निवेदन दिएका थिए। यो निवेदनमाथी सुनुवाइ गर्दै उनलाइ सर्बोच्चले विदेशमा क्रीकेट खेल्न जान पाउने अनुमती दिएको हो।