आर्थिक वर्ष २०७८/७९ मा राज्यको बेरुजु १ खर्ब १९ अर्ब रुपैयाँ थपिएको छ। प्रतिवेदन अनुसार हालसम्मको बेरुजु ९ खर्ब ६० अर्ब पुगेको हो। महालेखा परीक्षक टंकमणि शर्माले आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको ६० औं वार्षिक प्रतिवेदनमा आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब १९ अर्ब थप भएपछिको हालसम्मको बेरुजु रकम ९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको हो।
महालेखाले आर्थिक वर्ष २०७८/७९ मा कुल ६ हजार ५४६ वटा निकायको लेखा परीक्षण गरेको थियो। यी निकायले राज्यकोषबाट गरेको आर्थिक कारोबार लगायतका काम कारवाहीहरुको लेखापरीक्षण गर्दा यस्तो बेरुजु पत्ता लागाएको हो। दुई वर्षको अवधिमा कुल बेरुजु र बक्यौता रकम करीव ३ खर्बले बढेर ९ खर्ब ६० अर्ब रुपैयाँ पुगेको देखिएको छ।
प्रतिवेदन सार्वजनिक गर्नकालागी आयोजित पत्रकार सम्मेलनमा महालेखा परीक्षक टंकमणि शर्माले गत वर्ष १५ अर्ब रुपैयाँमात्र बेरुजु फर्छ्यौट भएको विवरण प्रस्तुत गरेका छन। लेखापरीक्षण सकिएपछी प्रचलित कानुन अनुसार कागजात उपलब्ध भए सम्परीक्षण गरेको पनि शर्माले बताए। उनले लेखा समितिको निर्देशनमा प्रचलित कानुन अनुसार मेल नखाने भन्दै टिप्पणी पनि गरे। गतवर्ष ५० अर्ब २७ करोड रुपैयाँ बेरुजु फर्छ्यौट भएकोमा यो पटकको लेखाकै कारणले १५ अर्ब रुपैयाँमात्र फर्छ्यौट भएको हो।
बेरुजु के हो?
कानुन विपरीत कुनैपनी सरकारी कार्यालयहरुले खर्च गर्दा बिल भरपाई पेश नगरेको, प्रकृयागतरुपमा नियम मिचेर राज्यकोषबाट भुक्तानी भएको, पेश्की लिएर हिसाब नबुझाएका खर्च रकमलाई बेरुजु भनिन्छ। सरकारी ऐन, कानुन बिपरित खर्च भएको वा केही त्रुटी भएका कारण बेरुजु रहन्छन। महालेखा परीक्षक समक्ष प्रक्रिया पुर्याएर कागजातहरु पेश गरे भने यि बेरुजुहरु फर्छ्यौट हुन सक्छन।