मंगलबार, भाद्र २ गते २०८३
images

धन्य कोरोना, सपनामा भए पनि “बोल्ड” मित्र भेट गरायौ : निर्मल भट्टराई

  • 10.2K
    SHARES
  • चैत्र २४, २०७६ सोमबार

    हिजो आज लकडाउन छ । देशभर छ, संसारभर छ । लकडाउन भनेपछि हत्तपत्त घरबाट बाहिर निस्कने कुरा भएन । अनि कोठादेखि कोठासम्म, किचेनदेखि बाथरुमसम्म । किताबदेखि फेसबुकसम्म । उकुसमुकुस । समाचार आज त्यही भोलि त्यही, मृतक र संक्रमितको संख्या बढेको बढ्यै । प्रत्येक नयाँ तथ्याङ्कले आङ् थप सिरिङ्ग हुनु बाहेक केही छैन । पञ्चायती र ज्ञानेन्द्रीय निरङ्कुशताको विरोध गरेवापत पटक–पटक जेल बसियो । जेलमा अरुको अनुशासनमा बसिने हुनाले छुट्टै उकुस मुकुस हुन्थ्यो । तर अहिलेको लक डाउनमा स्व-अनुशासनमा बस्दा त्यस्तो उकुस मुकुस हुने कुरा भएन । परिवारलाई समय दिन नपाउने हामीजस्तालाई त हाई सुख नै भो नि !

    लकडाउनमा लामा–लामा सुताई । सपनाको ओईरो । सपनाको बारेमा जीवनमा पहिलो पटक मैले आमाबाट सुनेको हो । “राम्रा सपना” र “नराम्रा सपना”बारे निकै बयान गर्नुहुथ्यो आमाले ।स्कुलको चौरमा दिउसो झुम्रोको भकुण्डो खेलिन्थ्यो । राति सपना देखिन्थ्यो–परबाट बेस्सरी झुम्रे भकुण्डो आउँथ्यो, न्वारानदेखिको बल निकालेर लात्तिले भकुण्डोलाई हानेको त मर्ने गरी गोडा आफू सुत्ने खाटमा ठोक्किएको !

    एसएलसी पास गरेपछिको एक सपना मानसपटलमा अझै ताजै छ । कलेज पढ्न जाने आर्थिक सामथ्र्य परिवारमा नभएकोले जागिर खोज्नु स्वभाविक थियो । आफूले बच्चैदेखि आदर्श जागिर मानेको मास्टरी जागिर डेढ घण्टा उकालो हिडेर पुगिने एउटा प्राथमिक विद्यालयमा जागिर होला जस्तो भएको थियो । त्यही बेला एकरात मैले एउटा सपना देखें–भर्खरै झुल्किएको झलमल घाममा आफू उकालो हिड्दै गरेको । सपना आमालाई सुनाएं । आमाले खुसी हुदै भन्नुभो–राम्रो सपना देखिछस् तेरो जागिर पक्का ! आमाले भनेजस्तै जागिर मिल्यो ।

    माष्टरीबाट अलिअलि बाटो खर्ची जोहो भएपछि उच्च शिक्षा अध्ययन गर्न राजधानीतिर हानिएं म । अध्ययनको सिलसिलामा सपनासम्बन्धी सिग्मण्ड फ्रायडलगायतका मनोवैज्ञानिकहरुका सिद्धान्तबारे केही ज्ञान पाएपछि मेरो वाल मष्तिष्कमा आमाले राखिदिएको ज्ञानको पुरानो पत्ता छाँयामा पर्यो । लामा–लामा सुताईका कारण अर्ध निन्द्राको कारण हुनसक्छ, अनेकन सपनाको ओइरो लाग्न थालेको छ । एउटा राजनीतिक अम्मली भएकोले सपना पनि सबै राजनीतिक हुने नै भए । गए राति एउटा “बोल्ड” साथीसंग भेटघाट भएको “बोल्ड” सपना देखियो ।

    ती साथीलाई जुनबेला मैले भेटें,त्यतिबेला उनी मजस्तै थिए । परिवारको आर्थिक अवस्था पनि मेरोजस्तै । सोचाई पनि मेरोजस्तै ।
    तर समय बदलिएको छ । साथी बदलिएर “बोल्ड” भए । आफू जस्ताको त्यस्तै । साथी “बोल्ड” भएपछि साथीका अरु सबै कुरा बोल्ड नहुने कुरा भएन । सम्पत्ति बोल्ड, निजी गाडी बोल्ड, सेक्युरिटी बोल्ड, साथीका साथी बोल्ड, आश्वासन बोल्ड, धम्की बोल्ड, घुर्की बोल्ड, हिडाइ डुलाई बोल्ड, भाषण बोल्ड, भाषणमा आउने ताली बोल्ड, पछि लाग्ने भीड बोल्ड, अन्तरवार्ता बोल्ड, विकास योजना बोल्ड, बजेट बोल्ड, उद्घाटन बोल्ड, शिलान्यास बोल्ड,सबै बोल्ड ।

    कुनै पूर्व सूचना बेगर नै सपनामा मेरा बोल्ड साथी मेरो घर आए । उनको ब्राण्ड न्यु गाडी मेरो घर अगाडि घ्याच्च रोकियो । बराबरी हैसियत हुँदा विगतमा संगै बसेर ढिंडो रोटि खाए पनि अहिले उनको बोल्ड बरियता सुहाउने सत्कार गर्न मलाई हम्मे हम्मे पर्यो ।
    दुवै परिवारको सामान्य सञ्चो विसञ्चोबारको भलाकुसारी पछि हाम्रो वार्तालाप शुरु भयो । सम्झे जति वार्तालाप जस्ताको तस्तै यहाँ प्रस्तुत गरिएको छ :

    मः कस्तो चल्दैछ त तपाईंको राजनीति ?
    साथीः जिल्लाको विकास बोल्ड हुदैछ, बोल्ड बजेट खर्च गरिदैछ, बोल्ड बोल्ड साथीहरुबाट बोल्ड बजेट खर्च गराउने बोल्ड निर्णय गरेको छु, तपाईंले देख्नै भएको छ ।
    म : त्यो त देखेको छु । तपाईंको एक शुभचिन्तकको नाताले तपाईंले गरेका बोल्ड कामहरुको सुक्ष्म हिसाबले हेरिरहेको छु । मलाईं तपाईंका सबै बोल्डहरु मन पर्छ । यो कोरोनाले पो डिस्टर्व गर्यो । बन्दाबन्दीमा पुर्याइदियो ।
    साथी : लाग्ने कोललाई धुलो न मुलो । यो बन्दाबन्दीमा पनि मेरा बोल्ड कामहरु रोकिएका छैनन् नि !
    म : के गर्नुभो र ?
    साथी : हिजो मात्र एउटा बोल्ड अन्तरवार्ता दिएं ।
    म : के विषयमा ? मैले कसरी हेर्न छुटाएं त ।
    साथी : के हुनु नि ! बोल्ड बाले बोल्ड निर्णय गर्नुपर्यो, विग्रेको राजनीति सुधार्नु पर्यो भनेर । भाईरल भएको छ मेरो अन्तरवार्ता ।
    म : बोल्ड बाले कोरोनाजस्तो महामारीमा चालेका निर्णय त बोल्ड छन् । तिनै निर्णयका कारण आज नेपाल कोरोनाको भयावह दुष्चक्रमा परिहालेको छैन । कोरोना रोकथाम र नियन्त्रणको सवालमा हाम्रो देश कैयन् शक्तिशाली र सम्पन्न देशभन्दा अब्बल देखिएको छ । यो सबै नेपालीले गर्व गर्ने कुरा हो । होईन र ?
    साथी : हुन त हो तर धेरै राजनीतिक विषयबस्तु पेण्डिङ भएका छन् तिनीहरुमा बोल्ड निर्णय चाहियो भनेको मैले ।
    म : जतिबेला गाह्रो उतिबेला साह्रो भन्ने नेपाली उखान छ । पार्टीका बोल्ड नेताहरुको चित्त बुझाउने कुरा, बोल्ड मान्छेलाई बोल्ड मन्त्रालय सुम्पिने कुरा, बोल्ड सल्लाहकार नियुक्ति गर्ने कुरा यो कोरोनाको महामारीबाट देशलाई मुक्त गरेपछि गरे हुदैन ? कोही बोल्ड नेता दुई महिनापछि मन्त्री भए हुदैन ?
    साथी : बोल्ड बा शारीरिक रुपमा कमजोर भएर यो सबै विग्रेको लथालिङ्ग हुनेभो सबैतिर ।
    म : देश चलाउन म्याराथुन धावक वा बक्सर चाहिने हो र ?

    हाम्रो वार्तालापको आवाज बढ्दै थियो । साथीको नजिकै बसेको उनको पीएले अघिदेखि कसैलाई लगातार फोन गर्दै थियो । फोन लाग्यो क्यार दौडेर ऊ ठोका बाहिर गएर कुरा गर्न थाल्यो । आवाज ठोकाबाट चुहियो–हाम्रा बोल्ड नेताले बोल्ड बालाई भेटेरै केही बोल्ड निर्णयका लागि सुझाव दिन चाहनु भएको छ, तुरुन्त भेटघाटको समय मिलाउनु पर्यो ।

    पीए भित्र आएपछि मेरा साथीसंग केही कानेखुसी गर्यो । कोरोनाको सामाजिक दुरीले गर्दा उक्त साउती सुनिएन । र, साथी छट्पटाए । मेरो यो बोल्ड अभियानमा तपाईंले सहयोग गर्नु होला भनेर आएको, तपाईंलाई त कोरोनाले एकोहोर्याइ सकेछ, म हिडें अब भन्दै साथी निस्किए ।
    बोल्ड साथीको बोल्ड चाला, सकिएन ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार