हत्या आरोपमा फरार सुचीमा रहेका प्रतिवादी सिरहा बिष्णुपुर गाउँपालिका वडा-५ लक्ष्मीपुरका ४१ वर्षीय विक्की मुस्कान भन्ने भोगेन्द्र प्रसाद यादवलाई घटना भएको ६ वर्षपछि इन्टरपोलमा 'रेड कर्नर नोटिस' माध्यमबाट कतारबाट पक्राउ गरी सोमबार नेपाल ल्याइएको छ ।
उनले आफ्नै २५ वर्षीया श्रीमती आरती परियारको धारिलो हतियारले घाँटी रेटी हत्या गरेका थिए। उक्त घटनामा संलग्न भई फरार रहेका भोगेन्द्रलाई कतार इन्टरपोलको सहायतामा कतारमा समन्वय गरी नेपाल झिकाइ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल प्रहरिले नियन्त्रणमा लिएको हो । यादवलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि महानगरीय अपराध महाशाखामा बुझाइएको नेपाल स्थित इन्टरपोल शाखाले जनाएको छ।
निज भोगेन्द्रले २०७२ वैशाख १५ गते बिहान ललितपुर लेलेमा आरतीको हत्या गरिएको अवस्थामा शव फेला परेको थियो । घटनापश्चात वैदेशिक रोजगारीको सिलसिलामा कतार गएका भोगेन्द्रविरुद्ध अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवम् पक्राउको लागि महानगरीय अपराध महाशाखाको अनुरोधमा २०७६ पुस १२ गते ईन्टरपोल महासचिवालयबाट 'डिफ्यूजन' तथा पुन: २०७७ साउन १९ गते 'रेड कर्नर नोटिस' जारी गरिएको थियो।