काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ढले आफ्नो पार्टीले जनताको जनवादी कार्यक्रमसहित अघि बढने लक्ष्य लिएको दावी गरेका छन्।
अध्यक्ष दाहालले समाजवादको लक्ष्य प्राप्त गर्न जनताको जनवादी कार्यक्रमसहित अघि बढने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण गरिएको बताएका छन। उनले दुई पार्टीबीचको एकता सिद्धान्तहिन ढंगले नभएको पनि बताएका छन।
जनयुद्धकालका सहिद रितबहादुर खड्काको १७ औं स्मृतिको अवसर पारेर सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले जनताको जनवादी कार्यक्रमसहित जाने र देशलाई आर्थिक समृद्धि र विकासको नयाँ प्रगतितिर लैजाने बडो प्रस्ट लक्ष्यका साथ पार्टी एकता गरिएको बताएका छन। कतिपय मानिसहरु त्यो लक्ष्यलाई राम्रोसँग नबुझेर कन्फ्युज पनि हुन सक्छन, तर हाम्रो पार्टीको दुवैधारका नेताहरुले सर्वसम्मतिले तयार पारी पार्टी सचिवालय र स्थायी समिति बैठकले पारित गरेको राजनीतिक प्रतिवेदनमा जनताको बहुदलीय जनवाद र एक्काईसौ शताब्दीको जनवाद दुवैका सकारात्मक पक्षलाई अघि बढाउँदै लैजाने उल्लेख गरिएको छ’ अध्यक्ष दाहालले आजको युग सुहाउँने गरी पार्टीको सिद्धान्तलाई परिमार्जन र विकसित गर्दै लैजानुपर्ने पनि दोहोर्याएका छन।
अध्यक्ष दाहालले दुई पार्टीबीचको एकताबाट ऐतिहासिक र असाधारण कामको सूरुवात भएको दोहोर्याउँदै निराश नहुन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरेका छन। उनले सहिदहरुको सपनालाई साकार पार्ने लक्ष्यका साथ पार्टी अघि बढिरहेको दावी पनि गरेका छन। अध्यक्ष दाहालले तत्कालीन माओवादीका केन्द्रिय सदस्य रितबहादुर खड्कालाई एउटा गतिशील नेताको रुपमा पनि चित्रण गरेका छन।