काठमाडौं । संयुक्त अधिराज्य अमेरिकाले भेनेजुयलाको पछिल्लो राजनैतिक घटनाक्रमबारे नेपाल सरकारको ‘आधिकारिक’ धारणा के हो भन्दै जवाफ माग गरेको छ ।
सत्तारुढ दल नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुयलामा अमेरिकी नीतिको विरोध गर्दै वक्तव्य जारी गरेका थिए । उनको वक्तव्यमा राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिका लगायत पक्षधर राष्ट्रको विरोध रहेको छ ।
सत्तारूढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’ मा लिएको भन्दै नेपालस्थित अमेरिकी दूतावासले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको आधिकारिक धारणा प्रस्ट पार्न आग्रह गरेको हो ।
भेनेजुयेलाको राष्ट्रिय सभाका अध्यक्ष जुवान गुइडोले आफूलाई अन्तरिम राष्ट्रपति घोषणा गरेपछि त्यहाँ राजनीतिक संकट चुलिएको छ ।
भेनेजुयलाको संकटलाई लिएर विश्व महाशक्ति राष्ट्रहरू दुई ध्रुवमा विभाजित भएका छन् । अमेरिका र उसका पक्षधर राष्ट्रले गुइडोलाई समर्थन गरेका छन् । रुस, चीन, भारत, टर्कीलगायतले राष्ट्रपति वैधानिक चुनावी प्रक्रियाबाट निर्वाचित भएको भन्दै मडुरोलाई समर्थन गरेका छन् ।
यही सन्दर्भमा पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष प्रचण्डले पनि विज्ञप्ति जारी गर्दै मडुरोको समर्थन गरेका थिए । उनको यो वक्तव्य आएपछि त्यसको पक्ष र विपक्षमा बहस सृजना भएको छ ।