काठमाडौं । ७ मध्ये ४ ओटा प्रदेशले आफ्नो स्थायी राजधानी तोक्न र नामाकरण गर्नमा ढिलाई गरेका छन् । गण्डकी, कर्णाली र सुदुरपश्चिम गरि ३ प्रदेशले आफ्नो नाम र स्थायी राजधानीको टुङ्गो लगाएपनि प्रदेशसभा सुरु भएको झण्डै १ बर्ष हुन लाग्दा बाँकी रहेका प्रदेशले भने यसबारेमा निर्णय गर्न सकेका छैनन् ।
प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राइले माघ २० गतेबाट सुरु हुने हिउदे अधिवेशनबाट यस बिषयको टुङ्गो लाग्ने बताए । प्रदेश नम्बर २ को राजधानीको बारेमा लगभग सहमति जुटेको भएपनि नामको बारेमा भने विवाद कायमै रहेको छ । प्रदेश २ को लागि मिथिला, भोजपुरा, मधेस, लगाएत नामको प्रस्ताव आएको छ ।
नाम र राजधानीको निक्यौल गर्न गठित आयोगले सुझाव संकलन गरिरहेको भएपनि अन्तिम प्रतिवेदन नआएको र छिटै यसबारेमा निर्णय गरिने सामाजिक विकासमन्त्री नवल किशोर साहले जानकारी दिए । प्रदेश नम्बर ३ को भने राजधानी र नाम दुबैमा राजनितिक सहमति जुट्न सकेको छैन । सामाजिक विकासमन्त्री युवराज दुलालले फागूनको पहिलो हप्ताबाट संसदको हिउदे अधिवेशन सुरु हुने र त्यसपछि यस विषयमा छलफल हुने जानकारी दिए ।
प्रदेश नम्बर ५ ले यसअघि नै यो बिषय टुङ्गो लगाउने बताएको भएपनि ढिलाई भइरहेको छ । संविधानमा प्रदेशसभाको २ तिहाइबाट नाम र राजधानी टुङ्गो लगाउन सक्ने व्यवस्था छ तर समयसीमा भने तोकिएको छैन ।