साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ४३ विन्दुले बढेर बन्द भएको छ । लगातार बढेको बजारमा हिजो सामान्य करेक्सन देखिएको थियो । आज बैंकिङ प्रणालीमा तरलता केही सहज बनेको समाचार प्रवाह भएसँगै लगानीकर्ता आशावादी बन्दा बजार उकालो लागेको हो । बजार परिसूचक नेप्से उकालो लागे पनि कारोबार रकमले भने साथ दिएको देखिएको छैन ।
आज नेप्से ४३.२९ विन्दुले बढेर २६९२.४७ मा पुगेको छ । नेप्से १.६३ प्रतिशतले बढ्दा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.८४ विन्दुले बढेर ५०६.७ मा पुगेको छ । आज कारोबार भएका १३ वटा समूहमध्ये उत्पादनमूलक र व्यापार समूहबाहेक सबैको सूचक हरियो बनेको छ । यी दुई समूह क्रमशः ०.०८ र ०.६८ प्रतिशतले खस्किएका छन् । उकालो लाग्नेमध्ये अघि देखिएको होटल समूह ३.४८ प्रतिशतले बढेको छ ।
आज तीन अर्ब ६७ करोड ६८ लाख ४६ हजारको कारोबार भएको छ । कारोबार रकम हिजोको तुलनामा ९५ करोडले कम हो । हिजो चार अर्ब ६२ करोड २१ लाख ६० हजार रुपैयाँ हाराहारीको कारोबार भएको थियो । पछिल्ला केही दिनेको बजारको प्रवृत्ति हेर्दा नेप्से बढ्दा कारोबार रकम घट्ने र नेप्से घट्दा कारोबार रकम बढ्ने गरेको अवस्था छ । यसले बजारमा विक्रेता हावी भएको र बजारको बुलिस अवस्था कम्जोर बन्दै गएको संकेत गर्छ ।
आज कारोबार भएका २३८ स्क्रिप्टमध्ये १९० वटाको भाउ बढेको छ भने ३५ वटाको घटेको छ । १२ वटाको क्लोजिङ मूल्य स्थिर रह्यो ।नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्य भोटेकोसीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा इक्विटीतर्फ विशाल बजार कम्पनी रहेको छ । यसको सेयर भाउ २.१५ प्रतिशतले घटेको छ ।