काठमाडौं । दसैं नजिकिँदै गर्दा सेयर बजारमा पनि त्यसको प्रभाव देखिन थालेको छ । सामान्यतया हरेक वर्ष दसैंको केही दिन अगाडिदेखि सेयर बजार कम्जोर बन्दै गएको देख्न पाइन्छ । यसपटक पनि बजारले त्यही प्रवृत्ति दोहोर्याउन थालेको छ । १८ अगस्टमा अलटाइम हाइको रेकर्ड बनाएको सेयरबजार त्यसयता बियरिस ट्रेन्डमा छ । नेप्सेसँगै कारोबार रकम पनि त्यही अनुपातमा ओरालो लाग्दै आएको छ । यो साताको पहिलो दिन आइतबार पनि बजारले त्यस्तै संकेत गरेको छ ।
आइतबार बजार ६१.२८ विन्दुले ओरालो लाग्दा कारोबार रकम साढे ६ अर्बमा खुम्चिएको छ । अलटाइम हाइ बन्दै गर्दा सेयर बजारमा दैनिक २० अर्बभन्दा बढीको कारोबार हुने गरेको थियो ।
नेप्से २.१७ प्रतिशतले घटेर २७५८.४८ मा ओर्लिंदा क वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि २.०२ प्रतिशतले ओरालो लागेर आइतबार बजार बन्द हुँदा ५१९.३७ विन्दुमा आएको छ । यस दिन कारोबार भएका १३ वटा समूहमध्ये म्युचुअल फन्डबाहेक सबै समूहको सूचकमा रातो पोतिएको छ । म्युचुअल फन्ड भने ०.०३ विन्दुले हरियो छ । सबैभन्दा बढी ओरालो लाग्नेमा फाइनान्स समूह देखिएको छ । यो समूहको सूचक ५.८९ प्रतिशतले ओरालो लागेको छ । यस्तै जलविद्युत् समूह पनि ४ प्रतिशतभन्दा बढीले खस्किएको छ ।
नेप्सेसँगसँगै अघिल्लो दिनको तुलनामा यस दिन कारोबार रकम पनि घटेको छ । यस दिन ७३ हजार ६९३ कारोबारबाट एक करोड ४४ हजार ९४ लाख २६० कित्ता सेयर ६ अर्ब ५० करोड एक लाख १७ हजार ७८० रुपैयाँमा किनबेच भएका छन् । यसअघिको कारोबार दिन गत बिहीबार ८७ हजार ८१० कारोबारबाट एक करोड ५७ लाख १४ हजार २६६ कित्ता सेयर सात अर्ब ७२ करोड ६३ लाख ७१ हजार २९ रुपैयाँमा खरिदबिक्री भएका थिए ।
आइतबार कारोबार भएका २३१ स्क्रिप्टमध्ये २०२ वटाको सेयर भाउ घटेको छ भने २४ वटाको बढेको छ । पाँचवटाको क्लोजिङ मूल्य स्थिर रह्यो । घट्दो बजारमा पनि यस दिन मनकामना स्मार्ट लघुवित्तको सेयर भाउमा पोजेटिभ सर्किट लागेको छ । सबैभन्दा बढी गुमाउनेमा आइसिएफसी फाइनान्स कम्पनीका लगानीकर्ता परेको छन् । यस कम्पनीको सेयर भाउ झन्डै ९ प्रतिशतले घटेको छ ।